राजवल्लभले पनि छाडे ‘कामिनो’, फिल्म निर्माण नै अन्यौलमा


दीपक वलीको निर्देशनमा बन्ने भनिएको फिल्म ‘कामिनो’को निर्माण अन्यौलमा देखिएको छ । यो  फिल्ममा अनुवन्धित भएका कलाकारहरुले समयमै छायांकन सुरु नभएको भन्दै प्रोजेक्टबाट हात झिकिरहेका छन् । यो फिल्मबाट नायिका नीति शाहले हात झिकिसकेकी छिन् ।

उनले, फिल्मको छायांकन सुरु हुन नसकेपछि प्रोजेक्टबाट हात झिकेकी हुन् । यस्तै, यो फिल्मबाट नायक राजवल्लभ कोइरालाले पनि हात झिकेका छन् । मेरो फिल्मसँग कुरा गर्दै समय अभावका कारण आफूले फिल्मबाट हात झिकेको राजवल्लभले बताए । 

यसरीहेर्दा, एकपछि अर्को कलाकारले फिल्मबाट हात झिक्दा यो प्रोजेक्ट निर्माण नै अन्यौलमा देखिएको छ । निर्देशक दीपक वलीले फिल्मको छायांकन सुरु गर्न सकेका छैनन् । 

हिडेरै अमेरिका पुग्ने नेपालीहरुको कथामा निर्माण हुन लागेको फिल्ममा अब प्रदीप खड्का र नायिका वर्षा सिवाकोटी मात्र अनुवन्धित छन् । भदौबाट प्रदीपले पनि नयाँ प्रोजेक्टको काम सुरु गर्दैछन् । जसकाकारण, दीपकलाई चाडो भन्दा चाडो काम सुरु गर्नुपर्ने दबाब छ । 

प्रदीप र दिपकले फिल्मका लागि फिलिपिन्सको लोकेशन समेत हेरेर आएका थिए । मेक्सिको र ब्राजिलले भने फिल्मको टिमलाई भिसा नै दिएन । जसकाकारण, फिल्मको छायांकन फिलिपिन्स र नेपालमा गर्ने बताइएको थियो ।