सक्रिय राजनीतिबाट एलिजाले लिइन् बिदा, हर्क र बालेन जस्तै स्वतन्त्र भएर काम गर्ने
नागरिक उन्मुक्ति पार्टीको महिला विभाग प्रमुख समेत रहेकी नायिका तथा मोडल एलिजा गौतमले सक्रिय राजनीतिबाट बिदा लिएकी छिन् । उनले मेरो फिल्मसँग कुरा गर्दै आफूले सक्रिय राजनीतिबाट बिदा लिएको र पार्टीमा राजीनामा २ साता अगाडि नै बुझाइसकेको जानकारी दिइन् । अब, आफू स्वतन्त्र भएर काम गर्ने उनको भनाई छ ।
एलिजाले सक्रिय राजनीतिबाट बिदा लिनुको कारणबारे मेरो फिल्मसँग भनिन्–‘कुनै पार्टीमा आबद्ध हुँदा पार्टीकै निर्देशन अनुसार काम गर्नुपर्दो रहेछ । अब, कसैको डर र त्रासमा नलागी काम गर्छु । पार्टीमा लागेपछि आफ्नो तरिकाले समाजसेवा पनि गर्न नपाइने रहेछ । पहिले जस्तो काम गर्न पनि नपाइने, दबाबमा बस्नुपर्ने भएकाले अब मैले सक्रिय राजनीतिबाट बिदा लिएकी हुँ ।’
एलिजाले अब आफू धरानका मेयर हर्क साम्पाङ, काठमाडौंका मेयर बालेन शाहले जसरी काम गर्ने बताइन् । भनिन्–‘म हर्क साम्पाङलाई भेटेर फर्किँदैछु । उहाँको कामबाट निकै प्रभावित भए । अब म उहाँहरुले जसरी नै जनताको सेवामा काम गर्न तयार छु । स्वतन्त्र भएर काम गर्दा आफ्नो सोच र चाहना अनुसार काम गर्न पाउँदोरहेछ ।’
एलिजाले हर्क साम्पाङलाई भेटेर १० थान साबेल प्रदान गरेकी छिन् । यस्तै, हर्कलाई उपहार समेत दिएको उनको भनाई छ । आफू सामाजिक कामका लागि धरान पुगेको बताउँदै एलिजाले आउँदा दिनमा पनि समाजसेवामा नै अग्रसर हुने बताइन् ।
प्रतिक्रिया