अवार्डमा पुग्नै छाडे कलाकार, किन घट्यो आकर्षण ?


सोमबार काठमाडौंको रसियन कल्चर सेन्टरमा ‘छायाँछवि डी सिने अवार्ड’को आयोजना भयो । अवार्डको १३ औं र १४ औं संस्करण आयोजना गर्दै गर्दा आयोजकले नेपाली फिल्म र कलाकर्मीको विकास र प्रोत्साहनका लागि कार्यक्रम गरेको रटान छाडेन । 

नेपालमा डिजिटल फिल्म निर्माणको सुरुवात भएसँगै यो अवार्डको पनि सुरुवात गरिएको हो । सुरुवातका संस्करणमा यो अवार्डप्रति फिल्मीकर्मीको क्रेज गज्जब थियो । तर, १४ औं संस्करणसम्म आइपुग्दा अवार्डमा कलाकारको खडेरी लाग्न थालेको छ । 

यो अवार्डमा उत्कृष्ट नायक र नायिकाको विधामा अवार्ड जितेका नायक पल शाह र नायिका पूजा शर्मा नै कार्यक्रममा देखिएनन् । केही चिनिएका अनुहार बाहेक अवार्डमा कोही पनि पुगेनन् । यतिसम्म कि, अवार्ड आयोजना भएको अवार्ड विजेताहरुलाई नै थाहा भएन । 

उसो त, अवार्डमा कलाकारहरुको उपस्थिती फितलो बनेको ‘डी सिने अवार्ड’मा मात्र होइन । नेपालमा आयोजना हुने अधिकांश अवार्डप्रति फिल्मीकर्मीको रुची घटेको छ । विशेषगरि, मनपरि अवार्ड बाढ्ने, अवार्डको हकदार भन्दा पनि कार्यक्रममा पुग्नेलाई अवार्ड वितरण गर्ने, नजिकका फिल्मीकर्मीलाई योगदान नै नभएपनि सम्मान गर्ने जस्ता कामले अवार्डप्रति रुची घटेको हो । 

अर्कोतिर, नेपालमा आयोजना हुने अधिकांश अवार्डहरु किनबेच हुने गरेका घटना पनि सुनिन्छन् । यस्तै, पछिल्ला केही बर्षयता अवार्ड कार्यक्रम विशेषगरि, विदेश जानका लागि बायोडाटा बनाउने मुख्य साधन बन्ने गरेका छन् । 
नेपालमा अवार्डको पुरानो क्रेज कहिले फर्किन्छ भन्न सकिने अवस्था छैन । निजी क्षेत्रले आयोजना गर्ने अवार्डदेखि सरकारी तबरबाट आयोजना हुने ‘राष्ट्रिय चलचित्र पुरस्कार’प्रति पनि फिल्मीकर्मीको रुची घटेको छ ।