गायक रोविन तामाङको निधन
नेपाली रक गीतका चर्चित गायक रोबिन तामाङको निधन भएको छ । उनको आज बेलुकी निधन भएको हो । रोबिनको निधन हृदयघातका कारण भएको बुझिएको छ । उनको निधन बुढानिलकण्ठ घरमै भएको उनकी दिदी भगवती तामाङले पुष्टि गरेकी छिन् ।
उनको शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको छ । उनको ६० बर्षको उमेरमा निधन भएको हो । रोबिनको जन्म सन् १९६३ मा सिंगापुरमा भएको थियो । रोबिनका पिता ब्रिटिस आर्मीमा रहेका कारण उनले विभिन्न ५ वटा देशमा आफ्नो बाल्यकाल बिताएका थिए ।
रोबिनले आफ्नो बाल्यकाल हङकङ, सिंगापुर र ब्रुनईमा बिताएका थिए । उनी सन् १९९६ मा नेपाल फर्किएर आफ्ना पिताको जन्मथलो पोखरामा काम गर्न थालेका थिए । यसपछि उनले लोजा नामको रक ब्यान्डमा आफूलाई आबद्ध गरेका थिए । रोबिनको ‘रोबिन एन्ड द रिभोलुसन’ नामक ब्यान्ड चर्चित छ । उनले, यही ब्यान्डमा रहेर थुप्रै गीतहरू साङ्गीतिक क्षेत्रलाई दिएका छन् ।
रोबिनको ‘केटा केटी, हाम्रो देश, नेपाल’ लगायतका एल्बम सार्वजनिक भएका छन् । यस्तै, उनले स्वर दिएका ‘ठिकै छ, पाटन, मेरो माया, माया देउ धोका नदेउ, माइला भाई, केटा केटी, कल्पना, आई क्यान हियर, फ्री वर्ल्ड, दम मारो दम, विरताको चिनो’ लगायतका गीतहरू सुपरहिट भएका थिए ।
रोबिनले केही फिल्ममा समेत अभिनय गरेका छन् । उनले अभिनय गरेको फिल्म ‘छड्के २’ गतबर्ष रिलिज भएको थियो ।
प्रतिक्रिया