व्यापारमा कमजोर परस्त्री, सुरजको डेब्यूमा सन्तुष्ट शर्मिला

गत बिहीबारबाट हलमा प्रदर्शनरत फिल्म ‘परस्त्री’ले मंगलबारसम्म आइपुग्दा बक्सअफिसमा अत्यन्तै न्यून व्यापार गरेको छ । शर्मिला पाण्डेको निर्माण र सुरज पाण्डेको निर्देशन रहेको यो फिल्मले शर्मिलाको अघिल्ला फिल्मको जस्तो कमाल देखाउन असफल भएको छ ।

शर्मिलाका यसअघिका केही फिल्मले सफलता पाए पनि यो फिल्मले भने त्यो सफलतालाई निरन्तरता दिन सकेन । फिल्मका लेखक दीपेन्द्र के खनाल हुन् । जो आफैं नेपालमा फरक स्वादका फिल्म बनाउन र ती फिल्म प्रदर्शन गरेर बक्सअफिसबाट पैसा कमाउन खप्पिस छन् । ‘परस्त्री’मा भने दीपेन्द्रको दम पनि खासै देख्न सकिएन ।

फिल्म प्रदर्शन भएपछि अधिकांश निर्माता, निर्देशक र वितरकले फिल्मको हल अकुपेन्सी भन्दै हलको सिट संख्यालाई फेसबुकमा राख्ने गरेका छन् । तर ‘परस्त्री’को हकमा त्यो कहीँ कतै देखिएन । बरु निर्माण पक्षले फिल्म प्रदर्शन भएका हल र त्यसको समय चाहिँ राखेका थिए ।

भलै काठमाडौं उपत्यकाका केही हलमा फिल्मका कलाकार तथा निर्देशक पुगेर दर्शक प्रतिक्रिया बुझे पनि प्रतिक्रिया दिने दर्शकले थप दर्शकलाई हलमा बोलाउन सकेनन् । जसकारण हलमा यो फिल्म ‘छ है’ भन्ने मात्र देखिएको छ ।

हिन्दी भाषामा समेत डब गरिएको यो फिल्म भलै नेपालमा नेपाली भाषामा मात्र रिलिज भयो । फिल्मकी निर्मात्री शर्मिला पाण्डेले केही भारतीय अनलाइनमा फिल्मबारे आएका सकारात्मक समीक्षालाई फेसबुकमा पोस्ट गरे पनि त्यो समीक्षा पढेकै आधारमा हलमा पुग्ने दर्शक छैनन् ।

हलमा फिल्म हेर्ने दर्शक नै नभएपछि फिल्मको व्यापार कस्तो छ होला त ? त्यो जोकोहीले अनुमान लगाउन सक्छन् । आज मंगलबारसम्मको व्यापारलाई बुझ्दा फिल्म हेर्न हलमा दर्शक अकुपेन्सी केवल ३ प्रतिशत मात्र छ । यो अवधिमा झण्डै ६ लाख छेउछाउमात्र ग्रस कलेक्सन रहेको बुझिएको छ । 

धेरैले भारतीय फिल्म ‘सत्यप्रेमकी कथा’ रिलिजको असर परेको अनुमान लगाए पनि यति धेरै असर नै चाहिँ कसरी पर्छ, त्यसको जवाफ कसैले दिन सकेको छैन । ‘परस्त्री’को व्यापारलाई बिर्सने हो भने निर्मात्री शर्मिला पाण्डेलाई छोरा सुरजलाई यही फिल्मबाट निर्देशकका रुपमा डेब्यू गराउनु चाहिँ सकारात्मक उपलब्धी हो । उनका लागि सुरजको उपलब्धीको खुशी मनाउनुबाहेक विकल्प केही छैन । किनकी ‘परस्त्री’ को व्यापार असोचनीय नै भइसकेको छ ।