काठमाडौं महानगर भित्रका १७ हलहरुलाई मनोरञ्जन कर तिर्न महानगरको पत्र

फिल्म हलहरुलाई काठमाडौं महानगरपालिकाले मनोरञ्जन कर अनिवार्य गरेको छ।

महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका १७ वटा फिल्म हललाई मनोरञ्जन शुल्क समावेश गरेर ३० दिनभित्र डिजिटल प्रणाली सञ्चालनमा ल्याउन निर्देशन दिंदै पत्र काटेको छ । काठमाडौं महानगर भित्रका हलमा रहेको बक्सअफिस रिपोर्टमा महानगरको पहुँच हुनुपर्ने महानगरको बुझाई हो । फिल्म हलको टिकट डिजिटल प्रणालीमा लैजान र महानगरपालिकालाई पनि पहुँच दिन महानगरले भनेको छ ।

डिजिटल प्रणालीबाट शुल्क लिइरहेकाहरुलाई राजश्व कार्यालयलाई तीन दिनभित्र महानगरको राजश्व विभागलाई पहुँच दिन भनिएको छ। यसैगरी डिजिटलमा नगएकाहरुलाई समेत तीन दिनभित्र उक्त व्यवस्था गर्न निर्देशित गरिएको छ। डिजिटल प्रणालीमा कर सञ्चालन नगरेकाहरुले भने पत्र प्राप्त भएको मितिले ३० दिनभित्र प्रवेश शुल्क डिजिटल प्रणालीमा ल्याई उक्त प्रणालीमा महानगरको राजस्व विभागलाई पहुँच दिलाउन पत्रमा भनिएको छ ।

महानगरभित्रका हललाई महानगरले आज पत्र पठाउँदै तीनभित्र हलको डिजिटल प्रणालीभित्र सहज पहुँचको व्यवस्था गर्न निर्देशन दिएको छ । फिल्म हलले दर्शकबाट उठाएको मनोरञ्जन करमा महानगरले आफ्नो पहुँच स्थापित गर्न खोजेको हो । फिल्म हलले फिल्मको टिकट मनोरञ्जन कर उठाउँदै आएको छ । उक्त करमा पारदर्शिताका लागि महानगरले कडाइ गर्न खोजेको छ ।

‘मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क संकलन गर्नुभएको भए सो प्रणालीमा ३ (तीन) दिन भित्र र डिजिटल प्रणाली सञ्चालनमा नआएको भए यो पत्र प्राप्त भएको मितिले ३० दिनभित्र प्रवेश शुल्क डिजिटल प्रणाली सञ्चालनमा ल्याई उक्त प्रणालीमा काठमाडौं महानगरपालिका राजस्व विभागलाई पहुँच गराउनु हुन जानकारीसहित निर्देशानुसार अनुरोध छ,’ महानगरले हललाई काटेको पत्रमा उल्लेख छ ।

फिल्म हलले कति टिकट काट्छ त्यसको जानकारी महानगरलाई पनि होस् भनेर डिजिटल प्रणालीबाट काटिने टिकटको युजर आइडी र पासवर्ड मागिएको काठमाडौं महानगरपालिकामा सहप्रवक्ता दिपक अधिकारीले जानकारी दिएका छन् । फिल्महलले प्रतिटिकटको ५ प्रतिशत मनोरञ्जन कर उठाउँदै आएको छ । उक्त कर कति उठ्यो भन्ने पारदर्शिताका लागि महानगरले यस्तो पत्र काटेको उनले बताए । डिजिटल प्रणालीमा नगएका हललाई एक महिनाभित्र जान र उक्त प्रणालीमा पहुँच प्रदान गर्न भनिएको दीपकले जानकारी दिए ।

महानगरले पत्र काटेका हलहरुमा बालाजुस्थित अष्टनारायण, कलंकी सिनेमा, गोंगबुको सार्थक इन्टरटेनमेन्ट, चावहिल चुच्चेपाटीको केएल सिटी सिनेमा, नयाँ बानेश्वरको कोर प्लान बिल्डर्स, चावहिलको गोपीकृष्ण मुभिज, कालिमाटीको ओकुलर होल्डिङ्स, दरबारमार्गको दरबार सिनेम्याक्स, न्युरोडको रञ्जना सिनेप्लेक्स, सुन्धाराको सेन्ट्रल सिनेमाज, सुन्धाराकै सिने द सेफ, जमलको विश्वज्योति, कमलादीको सिनेमार्क मुभिज, कमलपोखरीको सिनेस्टार, ठमेलको छाया सिनेमाज्, गोंगबुको ल्होत्से सिनेमा छन् ।