उषा उप्रेतिको गुनासो–‘पारिश्रमिकमा ‘बिचौलिया’बाट कलाकारहरुमाथि चरम शोषण भयो’


म्युजिक भिडियोकी सफल मोडल उषा उप्रेतिले पारिश्रमिकमा आफूहरुमाथि चरम शोषण भएको खुलासा गरेकी छिन् । मेरो फिल्मसँगको कुराकानीमा उषाले निकै कम पारिश्रमिक लिएर आफूहरु भिडियो खेल्न वाध्य भएको खुलाइन् । उनले भनिन्–‘अहिले हाम्रो कुराकानी सिधै निर्मातासँग हुँदैन । बिचमा कुनै व्यक्तिले भिडियोको जिम्मा लिनुहुन्छ । उहाँहरुले निर्माताबाट कलाकारका लागि त राम्रो पारिश्रमिक लिनुहुँदोरहेछ । तर, त्यो पारिश्रमिक हामीसम्म आइपुग्दा निकै कम हुन्छ । यसैले, पारिश्रमिकमा हामीमाथि चरम शोषण भैरहेको छ ।’

उषाले अगाडि भनिन्–‘यहाँ म्युजिक भिडियो खेल्नका लागि कुनै निर्माता, निर्देशकको अन्य गीतको टिकटक बनाइदिनुपर्छ । टिकटक बनाइदिएको खण्डमा मात्र भिडियोमा खेलाउँछु भन्नुहुन्छ । अनी, भिडियोमा पनि पारिश्रमिक निकै कम दिएर खेलाउनुहुन्छ । हाम्रो लागि आएको पारिश्रमिक बिचको व्यक्तिले खाइरहेका छन् ।’

उषाका अनुसार, अहिले म्युजिक भिडियो क्षेत्रमा ‘बिचौलिया’ हाबी छन् । जसले, निर्मातासँग कलाकारको संझौता गर्छन् । ती व्यक्तिहरुले कलाकारको नाममा महंगो पारिश्रमिक लिएर कलाकारलाई भने निकै कम पारिश्रमिक दिने गरेका छन् । उषाले अगाडि भनिन्–‘हाम्रा पनि सपना हुन्छन् । काठमाडौंमा भाडा तिरेर, आफ्नो परिवारलाई हेर्ने सपना बोकेर काम गरिरहेका छौं । तर, हाम्रो पसिनाको मुल्य अरु कसैले खोसिदिएको छ । यो बिषयमा बोल्यो भने काम नपाइएला भन्ने डर छ । नबोल्दा कलाकारहरुमाथि चरम शोषण भैरहेको छ ।’

आफूहरु यो क्षेत्रमा चलेको अवस्थामा त शोषणमा परिरहेको भन्दै उषाले नयाँ आउने कलाकारहरुमाथि झन् कस्तो विभेद भएको होला भन्दै प्रश्न गरिन् । उनले अगाडि थपिन्–‘कसैको पसिनाको मुल्य खाएर माथि त पुगिदैन । आशा गरौं, सबैले यो कुरालाई गम्भिर रुपमा लिनेछन् ।’