बार्षिकोत्सव जस्तो नदेखिएको चलचित्र विकास बोर्डको कार्यक्रम
नायक भुवन केसी अध्यक्ष भएपछि चलचित्र विकास बोर्डले असार १६ गते अर्थात् शनिबार वार्षिकोत्सव आयोजना गर्यो । हरेक बर्षको असार १६ गते विकास बोर्डले वार्षिकोत्सव मनाउँदै आएको छ । शनिबार आयोजना भएको वार्षिकोत्सव भव्य बनाउने कोशिश त गरिएको थियो । तर, कार्यक्रमको व्यवस्थापन गतिलोसँग नहुँदा निकै फितलो भयो ।
सेलिब्रिटी अध्यक्ष भएको कार्यक्रममा कलाकारहरूको खडेरी नै लाग्यो । यस्तो देखिन्थ्यो कि, विकास बोर्डलाई फिल्मीकर्मीहरुले अझै पनि आफ्नो सोच्न सकेका छैनन् । विकास बोर्डमा भुवन केसीकी प्रेमीका जीया केसी, कलाकार दीपाश्री निरौला, नायक सविन श्रेष्ठ लगायत देखिए । यस्तै, विभिन्न संघसंस्थाका अध्यक्षहरूलाई आसन ग्रहणका लागि कार्यक्रममा बोलाइएको थियो । बरु, विकास बोर्डको भन्दा संचार मन्त्रालयको जस्तो कार्यक्रम देखिएको थियो ।
कार्यक्रममा विकास बोर्डले लघु फिल्म, स्टोरी बोर्डबाट उत्कृष्ट ठहरिएको फिल्मलाई पुरस्कृत गर्यो । यस्तै, विकास बोर्डका कर्मचारीहरू पनि कार्यक्रममा पुरस्कृत भए ।
बोर्डको कार्यक्रम भएको हल निकै सानो भएकाले बोलाइएका पाहुनाहरू भित्र अट्ने कुरा नै थिएन । यसैले, हल भित्र भन्दा बाहिर धेरै अतिथि देखिए ।
यस्तै, बोर्डको भद्रगोल कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरियो । जसलाई नजिकबाट नियाल्न उपस्थित फिल्मीकर्मीहरुले नै पाएनन् ।
चलचित्र विकास बोर्डको सानो हलमा आयोजना भएका कारण पनि अव्यवस्थित देखिएको कार्यक्रम कुनै ठूलो हलमा गरिएको भए पक्कै पनि व्यवस्थित देखिन्थ्यो होला । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी दौरा सुरुवालमा उपस्थित थिए । उनी जति सजिएका थिए, बोर्ड परिसर पनि त्यसरी नै सजाइएको थियो । तर, भित्री कार्यक्रम भने अस्तव्यस्त थियो । विकास बोर्डको वार्षिक प्रतिवेदनमा दुबईमा फिल्म महोत्सव गरिएको भन्दै बखान गरिएको थियो । जबकी, यो महोत्सवले नेपाली फिल्म क्षेत्रलाई कुनै फाइदा दिन सकेको छैन । बरु, उक्त महोत्सव केसीको पारिवारिक पिकनिक जस्तो भएको थियो ।
चलचित्र विकास बोर्डले हरेक बर्ष आयोजना गर्ने वार्षिकोत्सवलाई फिल्म क्षेत्रले आफ्नो महशुश गर्न सक्नुपर्छ । तर, यो हुन सकिरहेको छैन । यसपटक पनि आयोजक यो कुरामा चुकेको छ ।
प्रतिक्रिया