साउन महिना सुनसान, भदौमा खचाखच फिल्म


नेपाली फिल्मका मेकरहरुका लागि सार्वजनिक बिदा निकै महत्वपूर्ण छ । तर, सार्वजनिक बिदा नहुँदा पनि कैयौं फिल्मले बम्पर व्यापार गरेको उदाहरण प्रशस्तै छ । सार्वजनिक बिदामा रिलिज भएर पनि पानी भन्न नपाएका फिल्मको संख्या पनि कम छैन । 

यो बर्षको साउन महिनामा फिल्मको खडेरी नै लाग्ने देखिएको छ । एकाध फिल्म बाहेक अधिकांश मेकरले फिल्मको प्रदर्शन मिति तोक्ने हिम्मत साउन महिनामा गरेका छैनन् । तर, भदौमा भने फिल्मको बाढी नै आउने देखिएको छ । 

भदौमा एक आपसमा फिल्म जुध्ने क्रम पनि खुबै छ । भदौको १ गतेबाट फिल्म ‘नम्बरी सुन र हिँड्दा हिँड्दै’ रिलिज हुने भएका छन् । 

गौरव पहारी र नम्रता सापकोटाको मुख्य भूमिका रहेको फिल्म ‘नम्बरी सुन’सँग आकाश श्रेष्ठ र सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘हिँड्दा हिँड्दै’  जुध्न आएको हो । 

भदौको ८ गते भने शोभित बस्नेतको निर्माणमा सलोन बस्नेत, अर्पण थापा, केकी अधिकारी, निशा अधिकारी लगायतका कलाकारको अभिनय रहेको फिल्म ‘जय हो’ रिलिज हुने पक्का छ । 

यसको ६ दिनपछि भदौको १४ गते कृषा चौलागाँइको निर्देशनमा स्वस्तिमा खड्का, वर्षा राउत, सुशिल सिटौला लगायतका कलाकारको अभिनय रहेको फिल्म ‘ऐचो पैचो’ रिलिज हुने पक्का भैसकेको छ । यही मितिमा मुकुन भुषाल र मेनुका प्रधानको मुख्य भूमिका रहेको फिल्म ‘गणपति’ पनि रिलिज हुँदैछ । 

आफ्नै देशमा निर्माण भएको फिल्मसँग जुध्नका लागि तछाडमछाड गरेका निर्माताहरुले भदौको २१ गतेको मिति भने नायक साहरुख खानको फिल्म ‘जवान’का लागि छाडिदिएका छन् । यो मितिमा कुनै पनि नेपाली फिल्मले रिलिज गर्ने हिम्मत गरेका छैनन् । 

तर, यसको एक सातापछि भदौको २९ गतेबाट २ आशातित फिल्म रिलिज हुँदैछन् । दीपेन्द्र लामाको निर्देशनमा दयाहाङ राई र मिरुना मगर अभिनित फिल्म ‘नाङ्गो गाउँ’ यही मितिमा रिलिज हुनेछ । यही मितिमा झरना थापाको निर्देशनमा सुहाना थापा, धिरज मगर, विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘भगवत् गीता’ पनि रिलिज हुँदैछ । यसरी हेर्दा, भदौ महिनामा ७ वटा फिल्म रिलिज हुने पक्का भैसकेको छ । 

गतबर्षपछि भदौ महिनामा फिल्म रिलिजको लामो सूची थियो । तर, फिल्म ‘झिङ्गे दाउ’ले मात्र व्यापारिक रुपमा सफलता कमाएको थियो ।