‘कमेडी क्लब विथ च्याम्पियन्स’ विवादमा, गन्धर्व समुदायको अपमान गरेको आरोप
हाँस्य रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’ फेरि विवादमा परेको छ । विशेषगरि, यो शोमा कलाकारहरुलाई बोलाएर उनीहरुकै मजाक बनाउने गरिन्छ ।
जसकाकारण, धेरै कलाकारहरु यो शोमा अतिथी बनेर जान चाहदैनन् । शोमा प्रस्तुति दिने हाँस्य कलाकारहरुले अतिथीको रोष्ट गर्ने नाउँमा उनीहरुलाई झनै असर पर्ने गरि प्रस्तुति दिने गरेका छन् । कतिपय कलाकारहरुले यो शोमा सहभागी हुन नै नमानेको अवस्था पनि छ ।
यसैबिच, शोमा प्रशारण भएको एक प्रस्तुतिलाई लिएर गन्धर्व सांकृतिक कला संगठनले आपत्ती जनाएको छ । गन्धर्व समुदायको आत्मसम्मानमा नै ठेस पुर्याएको भन्दै संगठनले आपत्ती जनाएको हो ।
संगठनका महासचिव अनिल गन्धर्वले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘गन्धर्व पात्रको भूमिका निभाउने कलाकारले गन्धर्व समुदायको मौलिकता, कला , संकृति, पेशा र सारङ्गीको प्रयोग र भाषा अमर्यादित ढंगले गरेको हुँदा उक्त दृश्यमाथि हाम्रो आपत्ती छ । उक्त कार्यक्रममा प्रस्तुत गरिने गन्धर्व पात्र र सारङ्गी प्रयोगको प्रशारणलाई तत्काल रोकेर सम्पूर्ण श्रृङ्खलाबाट सो पात्रको भिडियो हटाउँदै सार्वजनिक रुपमा माफी माग्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौं । त्यसो नगरिएको खण्डमा कानुनी सहायता लिई अघि बढिने कुराको समेत जानकारी गराउँदछौं ।’
महासचिव गन्धर्वले सार्वजनिक गरेको विज्ञप्तीमा थुप्रै भागमा गन्धर्व समुदायको आत्मसम्मानमा चोट पुर्याउने खालको प्रस्तुति प्रशारण भएको र सचेत गराउँदा पनि अटेर गरेकाले वाध्य भएर विरोध जनाउनुपरेको उल्लेख गरेका छन् ।
कलाकार पवन भट्टराइले सारंगीवादको प्रस्तुति दिएको ६७ औं भाग प्रशारण भैसकेको छ । यो शोको प्रस्तोता विशाल भण्डारी हुन् भने निर्देशक विक्की अग्रवाल हुन् ।
प्रतिक्रिया