हिन्दी फिल्ममा फर्किन थाले दर्शक
फिल्म ‘आदिपुरुष’ पछि नेपालमा रोकिएको हिन्दी फिल्मको रिलिज बिहीबारदेखि सुचारु भएको छ । अभिनेता कार्तिक आर्यन र अभिनेत्री कियारा आडवाणी स्टारर फिल्म ‘सत्यप्रेमकी कथा’ रिलिज भएसँगै हिन्दी फिल्मको प्रदर्शन सुचारु भएको हो । यो फिल्म हलमा प्रदर्शनमा आएपछि दर्शकको उपस्थिति पनि उत्साहजनक देखिन थालेको छ ।
सुरुमा ‘आदिपुरुष’को विवादलाई लिएर नेपालमा भारतीय फिल्म यहाँका दर्शकले नहेर्लान् कि भन्ने एकतर्फी सोचाई धेरै फिल्मकर्मीमा थियो । तर यसको ठीक उल्टो ‘सत्यप्रेमकी कथा’बाट सुरुवात भएको छ ।
फिल्मका नेपाल वितरक मनोज राठीका अनुसार यो फिल्म रिलिज भएका सबै हलमा दर्शकको उपस्थिति राम्रो छ । ‘राम्रो कथावस्तु भएको जुनसुकै देशका फिल्म हेर्न दर्शक आउँछन् । फिल्म नै राम्रो छैन भने दर्शक हेर्न आउँछन् भनेर सोच्नु मुर्खता हो’, राठीले मेरोफिल्मसँग भने ।
उनले ‘आदिपुरुष’को विषयमा हुँदै नभएको संवादलाई लिएर एक समूहले बजारमा नकारात्मक हल्ला फिजाएपछि त्यसको असर केहीमात्रामा हलमा देखिएको स्वीकारे । ‘अहिले पनि भारतीय फिल्म होस् वा जुनसुकै फिल्म होस्, आफ्नो स्वार्थ पूर्ति गर्नका लागि उनीहरुले बारम्बार हल्ला आज होस् या भोलि चलाई नै रहन्छन्’, राठीले अगाडि भने, ‘दर्शकलाई मुर्ख बनाउनु भनेको आफू नै मुर्ख हुनु हो । दर्शक राम्रो कथावस्तुको फिल्म हेर्न चाहन्छन् । तर फिल्मको कथा नै नराम्रो छ भने त्यो फिल्म हाउसफूलका साथ कहाँ चलेको छ र ?’
नेपाली फिल्म क्षेत्रमा एक गुटसँग मिडियादेखि लिएर अन्य क्षेत्र जोडिएपछि त्यसले बजारमा नकारात्मक असर पारेको राठीको बुझाई छ । दर्शकले मनोरन्जनका लागि फिल्म हेर्ने भएकाले जस्तोसुकै राम्रा कथाका फिल्म हेर्न दर्शकले कन्जुस्याई नगर्ने राठीको दाबी छ । राठीको भनाईमा नेपालमा बुधबार अथवा बिहीबार रिलिज भएका फिल्ममा दर्शकको उपस्थिति कम भइरहँदा बिहीबार परेको सार्वजनिक बिदाको फाइदा ‘सत्यप्रेमकी कथा’ले लिएको छ ।
भारतमा पनि यो फिल्मप्रति दर्शकको क्रेज बढेको देखिएको छ । फिल्म हेरेका दर्शकले सामाजिक सञ्जालमा तारिफ गरिरहेका छन् ।
प्रतिक्रिया