‘परस्त्री’: दीपेन्द्रको कथामा सुरजको बलियो न्याय
निर्देशक दीपेन्द्र के खनालले सस्पेन्स थ्रीलर कथामा फिल्म ‘चपली हाइट र चपली हाइट २’ बनाए । यो फिल्मले बक्स अफिसमा गज्जबको व्यापार पनि गर्यो । उनै, दीपेन्द्रले यसपछि भने केही सामाजिक र केही कमेडी कथामा फिल्म निर्माण गरेका छन् । दीपेन्द्रले सामाजिक र कमेडी कथामा आफूलाई ढाल्दै गर्दा सस्पेन्स थ्रीलर कथालाई भने मनको कुनै कुनामा मात्र राखिरहेका थिए ।
यसपटक, उनको मनको कुनामा रहेको एउटा कथालाई नव–निर्देशक सुरज पाण्डेले फिल्मको माध्यमबाट बोलेका छन् । भोलि बिहिबारबाट रिलिज हुन लागेको फिल्म ‘परस्त्री’ दीपेन्द्र र सुरजको गठबन्धनको बलियो उपहार हो ।
बुधबार आयोजित फिल्मको प्रिमियरमा विशेष गरि, निर्देशक सुरज पाण्डेको कामको सबैले मुक्तकण्ठले प्रशंसा गरे । आमाको चाहना पुरा गर्न फिल्म ‘लभ लभ लभ’मा नायकको रुपमा काम गरे पनि सुरजको सपना भने निर्देशक बन्ने थियो । उनले, फिल्म ‘परस्त्री’बाट बलियो संभावना देखाएका छन् ।
सस्पेन्स थ्रीलर कथामा बनेको यो फिल्मलाई सुरजले २ घण्टाको कसिलो फ्रेम भित्र बाँधेका छन् । यसैले, फिल्मको कथावस्तु र प्रस्तुतिले २ घन्टा दर्शकलाई आँखा झिमिक्क पार्न पनि दिँदैन ।
फिल्मबाट सुरजले सस्पेन्स थ्रीलर कथामा कसरी काम गर्नुपर्छ भन्ने पनि गतिलो तरिकाले देखाइदिएका छन् ।
श्रीमान् श्रीमतीको जीवनमा आउने उतारचढाव, गलत केटासँग बिहे गर्दा युवतीले भोग्ने तनावको कथामा फिल्म बनेको छ ।
फिल्मका मुख्य ३ कलाकारहरू कोशिश क्षेत्री, गौरव विष्ट र शिल्पा मास्केको काम बेजोड छ । उनीहरूले फिल्ममा गरेको अभिनयको उच्च प्रशंसा गर्नैपर्छ । कलाकारको उत्कृष्ट कामका कारण पनि फिल्म उत्कृष्ट बनेको छ ।
आज फिल्मको प्रिमियरमा पुगेकी नायिका स्वस्तिमा खड्का, नायक खगेन्द्र लामिछानेदेखि अधिकांशले सुरज र कलाकारहरूको कामको खुलेरै तारिफ गरे ।
फिल्म ‘परस्त्री’को मेकिङमा निर्माता शर्मिला पाण्डेले कुनै कन्जुस्याइँ गरेकी छैनन् । आमाको विश्वासलाई निर्देशक सुरज पाण्डेले कही कतै पनि खुकुलो हुन दिएका छैनन् । उनले, फिल्ममा शर्मिलाले गरेको लगानीलाई उत्कृष्ट रुपमा पस्केका छन् । यसैले, ‘परस्त्री’ले नेपाली फिल्मको कथा भन्ने तरिका, कलाकारको अभिनय मात्र होइन नेपाली फिल्मको बढ्दो स्तरलाई पनि दर्शाउँछ ।
प्रतिक्रिया