दिल्लीमा दर्शक 'परस्त्री' हेर्न उत्सुक, शिल्पा र गौरव उत्साहित
यही असार १५ गतेबाट नेपालसँगै भारतमा पनि प्रदर्शन हुन लागेको फिल्म 'परस्त्री'लाई लिएर दर्शक उत्साहित छन् । यो फिल्मको टिम यति बेला भारतमा फिल्मको प्रमोसन गरिरहेको छ ।
मुम्बईको प्रचार-प्रसार सकेर सोमबार यो फिल्मको टिम दिल्ली पुगेको हो। दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै निर्देशक सुरज पाण्डेले फिल्मको कथा युनिभर्सल भए पनि प्रस्तुति फरक बनाएको बताएका छन् । उनले यस्तो कथामा अहिलेसम्म नेपालमा फिल्म नै नबनेको जिकिर गरे ।
यस्तै, नायिका शिल्पा मास्केले 'परस्त्री'ले आफ्नो करियर नै बदल्ने आशा व्यक्त गरेकी छिन् । उनले अवसर पाएको खण्डमा बलिउड फिल्म खेल्न आफू तयार रहेको समेत बताइन् ।
नायक गौरव विष्टले परस्त्री जस्तो फिल्म खेल्न पाउनु आफ्नो एउटा अवसर भएको बताए । उनले भारतका दर्शकलाई नेपाली फिल्मलाई माया गर्न आग्रह गरे।
फिल्मकी निर्मात्री शर्मिला पाण्डेले भारतमा दर्शकले यो फिल्म मन पराएको खण्डमा अर्को फिल्म पनि हिन्दी संस्करणमा बनाउने बताई । दिल्लीमा फिल्म हेर्न कालागि दर्शक उत्साहित रहेको पाइएको छ । यहाँको सेलिनमा भेटिएका एक भारतीय दर्शकले फिल्मको ट्रेलर हेरेको र आफू फिल्म हेर्न इच्छुक रहेको बताए ।
विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको फिल्मको निरज कँडेल छायांकन गरेका हुन् । फिल्ममा कोशिस, शिल्पा र गौरवका अलावा अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ ।
फिल्ममा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल फिल्मका लेखकसमेत हुन् । नेपालमा फिल्मलाई जिजिए ग्रुप र डिसिएनले वितरण गर्दै छन् ।
प्रतिक्रिया