नेपालमा ‘परस्त्री’को हिन्दी भर्सन रिलिज नहुने
आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परस्त्री’को नेपालको प्रचार-प्रसारको काम सकेर अहिले भारतका विभिन्न शहरमा प्रचारको काम तीव्र गतिमा भैरहेको छ । केहीदिन मुम्बईमा फिल्मको प्रचार-प्रसार गरेको निर्माण टिम सोमबार भारतको राजधानी दिल्ली पुगेको हो ।
फिल्मको निर्माण टिमले सोमबार दिल्लीमा पत्रकार सम्मेलको आयोजना गरेको थियो । जहाँ फिल्मको कथावस्तु बारेमा चर्चा गरिएको थियो । दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा फिल्म हेर्न नेपालमा मात्रै नभई भारतामा पनि दर्शक उत्साहित रहेको प्रतिक्रिया मिलेको निर्देशक सुरज पाण्डेले बताए । साथै निर्देशक पाण्डेले पत्रकारसँग ‘परस्त्री’को कथा युनिभर्सल भएको दाबी समेत गरेका छन् ।
यस्तो कथामा अहिलेसम्म नेपालमा फिल्म नै निर्माण नभएको भन्दै फिल्मको प्रिजेन्टेससन भने नेपाली दर्शकको स्वाद अनुसार निर्माण गरेकाले केही फरक लाग्न सक्ने निर्देशक पाण्डेले बताए । दिल्लीमा पत्रकारसँग कुरा गर्दै अभिनेत्री शिल्पा मास्केले ‘परस्त्री’ले आफ्नो करियर नै परिवर्तन गर्ने अपेक्षा व्यक्त गरिन् । उनले अवसर पाएको खण्डमा आफु बलिउड फिल्ममा समेत काम गर्न तयार रहेको बताइन् ।
अभिनेत्री गौरव बिष्टले ‘परस्त्री’ जस्तो फिल्ममा काम गर्न पाउनु आफ्नो लागि ठुलो अवसर भएको बताए । उनले भारतीय दर्शकलाई नेपाली फिल्मलाई पनि बलिउड फिल्म जत्तिकै माया गरिदिन आग्रह गरे । यता फिल्मकी निर्मात्री शर्मिला पाण्डेले ‘परस्त्री’लाई भारतीय दर्शकले मन पराएको खण्डमा अर्को फिल्म पनि हिन्दी भर्सनमा निर्माण गर्ने बताइन् ।
यसैबीच मंगलबार निर्मात्री पाण्डेले मंगलबार समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै ‘परस्त्री’ नेपालमा नेपाली भाषामा मात्रै प्रदर्शन गर्ने जानकारी दिइन् । नेपालमा ‘परस्त्री’ हेर्न दर्शक उत्साहित रहेको भन्दै हिन्दीमा पनि रिलिज हुने खबरले दर्शक कन्फ्युज रहेको पाएकाले आफुहरुले नेपालमा ‘परस्त्री’ नेपाली भाषामा मात्रै प्रदर्शन गर्ने निर्णय गरेको उल्लेख गरेकी छन् ।
नेपालमा भारतमा एकसाथ रिलिज हुने भएकाले पनि फिल्मप्रति दर्शकको अपेक्षा र हाइप उच्च छ । विवाहोत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको फिल्मको निरज कँडेल छायांकन गरेका हन् ।
फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ । दीपेन्द्र के खनाल फिल्मका निर्माता तथा लेखकसमेत हुन् । फिल्मलाई जिजिए ग्रुप र डिसिएनले वितरण गर्दैछन् ।
प्रतिक्रिया