नयाँ फिल्मका लागि २० केजी तौल बढाउदै तेज

फिल्म हेर्ने दर्शकका लागि तेज गिरी अझै पनि नयाँ नाम हो । यस मानेमा नयाँ नाम हो कि उनले गरेका कामले दर्शकले अझै पनि उनलाई बुझ्न सकेका छैनन् । फिल्म ‘प्रेमगन्ज’मा अभिनय गरेपछि भने तेजले आफ्नो पहिचानलाई विस्तारै फराकिलो बनाउदै गएका छन् ।

उनले ‘प्रेमगन्ज’ अघि पनि स–साना भूमिका र सहायक चरित्रमा आफूलाई सक्रिय बनाए । तर ‘प्रेमगन्ज’बाट भने उनले दर्शकमाझ आफूलाई अभिनेताका रुपमा चिनाउन सफल भए । पेशाले तेज एक बैंकर हुन् । बैैंकिङ क्षेत्रमा उनको लामो समयको अनुभव आजसम्म कायमै छ । त्यतिमात्र नभएर उनी शारीरिक सुगठनमा उत्तिकै सक्रिय छन् ।

झट्ट हेर्दा तेजको सक्रियता एउटै विधामा मात्र छैन । उनी धेरै कुरामा आफूलाई व्यस्त बनाइरहेका छन् । अब भने उनै तेज नयाँ फिल्मको तयारीमा लागिरहेका छन् । जसका लागि फिल्ममा फिट हुन कलाकारले तौल घटाइरहँदा तेज भने तौल बढाउन व्यस्त छन् ।

गत वर्षको चैत्र १० गते चार प्रदेश सम्मिलित ‘मिस्टर पोखरा शारीरिक सुगठन प्रतियोगिता’ अन्तर्गत मेन फिजिक विधामा चौथो स्थान हासिल गरेको तेजको उक्त समय बडी फ्याट लगभग ५ प्रतिशतको हाराहारीमा थियो । अर्थात उनको तौल ६३ केजी थियो । अहिले उनले तौल बढाएर ७० केजी बनाएका छन् ।

नयाँ फिल्ममा देखिन लागेका तेजलाई सोही फिल्मका निर्देशकले आगामी असोज महिना भित्रमा २० केजी तौल बढाएर ९० केजी बनाउन जिम्मा दिएका छन् । ‘मैले आफ्नो तौल बढाउन खानाको तालिका र एक्सरसाईजको तालिकामा हेरफेर गरेको छु । हरेक दिन बिहान ५ बजे देखि ७ बजेसम्म जिममा समय दिँदै आएको छु’, हाइ स्प्रिट्स वेलनेस रिडिफाइन्डका प्रशिक्षक सन्जिब श्रेष्ठसँग प्रशिक्षण लिइरहेका तेज भन्छन्, ‘नयाँ फिल्ममा काम गर्नको लागि तेज पनि अत्यन्तै उत्साहित भई कडा मेहनत गरिरहेका छन् ।’

विगत ५ वर्षदेखि निरन्तर दिनमा २ घण्टा जिममा बिताउँदै आएका उनले यस दौरानमा खानपान र एक्सरसाईजको बारेमा धेरै ज्ञान बटुलेका छन् । उनले दिनको २४ घण्टामध्ये जिममा बिताउने २ घण्टा नै आफ्नो दिनको सबैभन्दा उत्तम समय मान्छन् । उनले २४ घण्टाको समयलाई अन्यन्तै व्यवस्थित ढंगबाट व्यवस्थापन गर्दै आएका छन् । 

‘सकेसम्म बाहिरका खानेकुराहरु खान्नँ । खाई हालेमा पनि अत्यन्तै होशियार भएर स्वास्थबद्र्धक खानेकुराहरु मात्र खान्छु । घरमा बनाएको खानेकुराको टिफिन म बोकेरै हिँड्छु । जिम जानु र स्वास्थ्यबर्धक खानेकुरा खानु भनेको शरीर बनाउन भन्दा पनि स्वस्थ रहनको लागि हो’, उनी भन्छन्, ‘आफ्नो स्वास्थको लागि दिनमा कम्तीमा १ घण्टा छुट्याउन र स्वास्थद्धर्धक खानेकुरा खान मेरो सुझाव छ ।’

तेज पछिल्लोपटक यसै वर्ष रिलिज फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’मा देखिएका थिए । हालसम्म उनले १ दर्जन फिल्म, १ दर्जन बढि म्युजिक भिडियो, केही सिरियल र केही विज्ञापनहरुमा समेत काम गरिसकेका छन् । पछिल्लो समय उनलाई फिल्मका लागि प्रस्तावहरु आएको भएता पनि उनले संख्यात्मकभन्दा गुणात्मकलाई ख्याल गरी काम गर्ने बताउँछन् ।