विवादित दृश्य हटाएपछि ‘परस्त्री’ले पायो पिजी सर्टिफिकेट
असारको १५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘परस्त्री’को सेन्सर पास (प्रदर्शन अनुमति) पाएको छ ।
गत बुधबार सेन्सर बोर्डले केही दृश्य छोटो बनाउन र केही दृश्यमा ब्लर गर्न भनेपछि यसका निर्माता तयार भएका थिएनन्। विशेष गरि, फिल्ममा समावेश चुम्बन र बेडसिनको मात्र नभएर केही हिंसात्मक दृश्यमा समेत सेन्सरले आपत्ती जनाएको थियो ।
तर, फिल्मका निर्माताले बोर्डले भनेका दृश्यहरु काट्दा फिल्मको कथावस्तु र यसको मर्म नै मर्ने भएकाले दृश्य काट्ने कुरामा असहमति जनाएका थिए । जसकाकारण, फिल्मको सेन्सर पास हुन सकेको थिएन ।
आज शुक्रबार भने निर्माण टिमले बोर्डले आपत्ति जनाएको दृश्यमा काँटछाट र परिमार्जित गरेपश्चात् फिल्मले प्रदर्शन अनुमति पाएको छ । सेन्सर बोर्डले फिल्मलाई पिजी सर्टिफिकेटसहितको प्रदर्शन अनुमति दिएको हो। अब १६ वर्षमुनिका दर्शकले अभिभावकसँग मात्र फिल्म हेर्नुपर्ने छ ।
यो बिषयमा मेरो फिल्मसँग कुरा गर्दै बोर्डका सदस्य राजु केसीले भने- ‘गत बुधबार सेन्सर गर्न आउदाँ हामीले जुन जुन कुरामा आपत्ति जनाएका थियौँ । त्यसमा उहाँहरू सहमत हुँदै दृश्य परिमार्जित गरेपश्चात् फिल्मलाई हामीले पिजी सर्टिफिकेट दिँदै प्रदर्शनको अनुमति दिएका छौँ’
हिन्दी र नेपाली भाषामा बनेको यो फिल्म भारतमा पनि रिलिज हुने निर्माण पक्षले जनाएको छ । यसका लागि निर्देशक सुरज र निर्मात्री शर्मिला मुम्बई पुगी सकेका छन् ।
विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको फिल्मको निरज कँडेल छायांकन गरेका हुन् । फिल्ममा कोशिस, शिल्पा र गौरवका अलवा अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ ।
फिल्ममा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल फिल्मका लेखकसमेत हुन् ।
प्रतिक्रिया