फिल्म 'अन्तिम संस्कार' किन हेर्ने ?

आज शुक्रबारबाट ‘मर्डर मिस्ट्री’को कथा फिल्म ‘अन्तिम संस्कार’ प्रदर्शनमा आएको छ । प्रदीप शाही निर्देशित फिल्म सामाजिक तथा सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । फिल्मले एक हत्या घटनाको रहस्यको वरपर कथा बोलेको छ । शुक्रबार अन्य कुनै पनि फिल्महरु रिलिज नहुँदा ‘अन्तिम संस्कार’ले सोलो रिलिजको मौका पाएको छ । 

फिल्म निर्माता, कलाकार र निर्देशकलाई सोधिने आम प्रश्न हो–तपाईंको फिल्म दर्शकले किन हेर्ने ? मेरोफिल्मले पनि यो फिल्मका निर्देशक र कलाकारलाई त्यही प्रश्न गरेको थियो ।

प्रदीप शाही, निर्देशक
आफ्नो फिल्मप्रति सबै निर्देशकको आ–आफ्नै दृष्टिकोण हुन्छ । मलाई चाहिँ दर्शकका लागि यही हो भनेर दबाब दिन मन लाग्दैन । दर्शकलाई खुला रुपमा कथा बुझ्न र विश्लेषण गर्न ठाउँ छोड्न चाहन्छु । त्यही भएर बुझ्नेले बुझिहाल्छन्, नबुझनेले बुझदैनन् तर मैले सुरुमा स्कृप्टमा तयार पार्दा होस्, या सुटिङमा मुस्ताङ जाँदा होस्, अथवा काठमाडौंमा आएर पोस्ट प्रोडक्सनको काम नै किन नहोस्, फिल्मका लागि जति गरेको छु, त्यसबाट एउटा चार मिनेटको सिन मात्र काट्नु परेको थियो । त्यही पनि अलिकति समय धेरै हुन्छ कि भनेर काटिएको हो । अरु त मैले जे स्कृप्टमा लेखेको छु, ठ्याक्कै त्यही आएको छ । 

त्यही भएर मेरो भिजन चाहिँ दर्शकले पक्कै बुझिदिनु हुन्छ भन्ने जस्तो लाग्छ । दर्शकले मेरो फिल्म किन हेर्ने भन्दा हामी फिल्म मेकरलाई उहाँहरुले जहिले पनि ‘फिल्म राम्रो बनाए पो हेर्ने’ भन्दै गाली गर्नुहुन्छ । तर यो पटक सबैले मेरो फिल्म नयाँ र नौलो नै भन्नेछन् । यो पटक मैले साँच्चै नै नयाँ र नौलो नै दिएको छु । नपत्याए हलसम्म आएर हेर्नुस् हेरेपछि म त्यही हलतिर दर्शक प्रतिक्रिया माग्दै डुलिरहेकै हुन्छु । हजुरहरुलाई पैसा असुल गर्ने फिल्म चाहिँ बनाइदिएको छु । 

दीया पुन, अभिनेत्री
फिल्ममा म डिएसपीको भूमिकामा छु । जो एक रहस्यमय घटनाको अनुसन्धानमा जोडिएकी हुन्छे । यो फिल्म फरक धारको छ । जसलाई थ्रिलर फिल्म हेर्ने इच्छा छ, उहाँहरुलाई यो फिल्म उपर्युक्त हुन्छ । साथै त्यो जनरालाई मात्रै नभएर पहिला त सबै मसला मिसाइएको जनरा भएको दर्शकले पनि हलसम्म गएर फिल्म हेर्नु भयो भने दिक्क मान्नु हुन्न ।

रेश्मा घिमिरे, अभिनेत्री
मुख्य कुरा दर्शकका लागि कथावस्तु नै हो । हाम्रो आफ्नै नेपालको कल्चरलाई प्रस्तुत गर्नलाई आफ्नो युथहरुलाई यो कुराको बारेमा ज्ञान दिनको लागि पनि हेर्नु पर्छ जस्तो लाग्छ । एउटा बोल्ड लेडी क्यारेक्टर जस्ले चाहिँ एउटा महिला पात्रलाई सशक्तिकरण गर्छे । त्यसको बारेमा पनि फिल्म झल्काइएको छ । साथै धेरै कुराहरु र धेरै पोजेटिभ सन्देशहरु पनि दिएको छ । एउटा बाबु छोराको राम्रो सम्बन्धसँगसँगै आफ्नो साथी भाइहरुसँग कसरी राम्रो गर्न सकिन्छ भन्ने कुराहरुको पनि यो फिल्ममा समावेस गरेको छ । पहिला त फिल्मको कथाबस्तु एकदम युनिक छ । फिल्मलाई राम्रो ढंगले प्रस्तुत गरिएको छ । यही कारणले पनि हामी सबै युथले यो फिल्म हेर्नुपर्छ जस्तो लाग्छ ।

त्रिचु राई, अभिनेता
प्रत्येक फिल्म चाहिँ नौलो नै हुन्छ । ‘अन्तिम संस्कार’ दर्शकहरुका लागि पनि नौलो छ । नेपालमा त्यती धेरै मर्डर मिस्ट्री जनरा फिल्महरु बन्दैनन् । त्यही भएर पनि यो जनराको फिल्म हेर्नुपर्छ । साथै साथै नेपाली फिल्म हो नेपालीले नहेरे कस्ले हेर्ने त । त्यही भएर पनि दर्शकहरुले हेर्नुपर्छ । 

फिल्ममा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ्ग लामा, बकाश अधिकारी, सरोज खालिङ्ग राई, सस्मिता गिरी, दिग्गज खत्री, सरोज कुमाल, धर्मानन्द आचार्य लगाएतको अभिनय रहेको छ ।

साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको फिल्ममा भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको फिल्म सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो ।