भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको आदेश


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भारतीय फिल्म महानगर भित्रका हलमा चल्न नदिने घोषणा गरे । बालेनको यो निर्णय विरुद्ध चलचित्र संघले बुधबार उच्च अदालत, पाटनमा उजुरी दियो । 

उच्च अदालतले आज अन्तरिम आदेश दिदै भारतीय फिल्म रिलिज नरोक्न आदेश दियो । उच्च अदालतका न्यायाधीस धिरबहादुर चन्दको एकल इजालसले भारतीय फिल्म लगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि फिल्मको प्रदर्शन नरोक्न अल्पकालिन अन्तरिम आदेश दिएको हो । 

यो बिषयमा अन्तरिम आदेश छलफलका लागि अदालतले असार १२ गते दुबै पक्षलाई बोलाएको छ । 

भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद भारतबाट समेत नहटाएसम्म महानगरका कुनै पनि हलमा भारतीय फिल्म चल्न नदिने घोषणा मेयर शाहले गरेका थिए । उनै, शाहको निर्णय विरुद्धमा चलचित्र संघले उच्च अदालतमा रिट दायर गरेको हो ।