कुसुम जस्तै म्युजिक भिडियोबाट फिल्म खेल्ने अवसर को–कोलाई मिल्यो ?
नेपाली फिल्म क्षेत्रमा म्युजिक भिडियोमा काम गरेर धेरै प्रतिभाहरू प्रवेश गरेका छन् । नायिका केकी अधिकारीदेखि वर्षा राउतसम्मले म्युजिक भिडियोमा राम्रो स्थान बनाएपछि फिल्ममा आफूलाई बलियो रुपमा स्थापित गराएका छन् ।
लकडाउनपछि नेपाली फिल्मको बजार खस्कँदा म्युजिक भिडियोले राम्रो बजार पायो । यसपछि म्युजिक भिडियोमा विशेष गरि टिकटकबाट उदाएका प्रतिभाहरूले बलियो स्थान बनाए ।
यसमध्ये, केही मात्र अहिले पनि साङ्गीतिक दुनियाँमा टिकिरहेका छन् । अधिकांश भने अरु नै पेसामा आबद्ध भइसकेका छन् ।
यी मध्ये पनि फिल्मको रँगिन दुनियाँमा प्रवेश पाउनेको संख्या निकै कम छ ।
केही दिन अगाडि मात्र मोडल कुसुम शर्माले फिल्ममा काम गर्ने पक्का गरिन् । उनले दिनेश श्रेष्ठको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘सञ्जिवनी’मा काम गर्ने पक्का भएको हो ।
कुसुम ‘सकम्बरी’ बोलको गीतबाट उदाएकी हुन् । उसो त, मोडल अञ्जली अधिकारीले पनि केही फिल्ममा काम नगरेकी होइनन् । तर, उनको फिल्मी यात्रा सुखद बनेको छैन । उनी, लोकगीतका भिडियोमा नै बढी व्यस्त छिन् ।
म्युजिक भिडियोमा काम गर्दै फिल्ममा प्रवेश गरेकी मोडल हुन्, गरिमा शर्मा । गरिमा शर्माले एउटा फिल्ममा काम गरिसकेकी छिन् भने २ वटा फिल्म साइन गरिसकेकी छिन् । ‘लण्डन टू पेरिस’मा काम गरिसकेकी गरिमाले ‘ह्रस्व दीर्घ र दौँतरी’ साइन गरिसकेकी छिन् । उनी पनि फिल्म क्षेत्रमा राम्रो स्थान बनाउने दौडमा लागेको देखिन्छ ।
फिल्ममा काम गरेपछि म्युजिक भिडियोमा जमेकी नायिका भने मलिका महत्त हुन् । जसले २ वटा फिल्ममा काम गरेपछि म्युजिक भिडियो खेलेपनि उनको चर्चा भिडियोबाट नै भयो ।
यी बाहेक अरु थुप्रै मोडलहरुले फिल्ममा काम गर्ने कोशिश त गरेका छन्, तर उनीहरूलाई अफर गएको छैन ।
प्रतिक्रिया