दर्शक पर्खदै सिनेमा हल

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले सोमबारदेखि काठमाडौं नगरभित्रका कुनै पनि हलमा हिन्दी फिल्म चल्न नदिने घोषणा गरेपछि अहिले प्रायः जसो हलहरु सुनसान नै छन् । वैशाख पछि नेपाली फिल्म व्यापारिक हिसाबमा लामो समयसम्म नचलेको कारणले पनि हलमा दर्शकहरु उल्लेख्य मात्रामा आउन सकेका छैनन् । 

सामान्यतयाः नेपालमा नेपाली फिल्मपछि बलिउड अथवा हलिउडका फिल्म हेर्ने दर्शक उल्लेख्य छन् । त्यसमा पनि बलिउडका दर्शक अझ बढी छन् । वैशाखमा फिल्म ‘जारी’ पछि दर्शक तान्ने गरी कुनै पनि नेपाली फिल्म रिलिज भएनन् । 

बलिउड अभिनेता सलमान खानको फिल्म ‘किसीका भाइ किसीका जान’ रिलिज भए पनि यसले दर्शकलाई खासै हलमा तान्न सकेन । यो फिल्मले भारतीय समीक्षकबाट पनि नकारात्मक समीक्षा पाएपछि त्यसको प्रभाव नेपाली दर्शकमा पनि देखियो ।

यसै सन्दर्भमा हामीले हलको स्थिति के छ भन्ने सन्दर्भमा बुझ्नलाई नयाँ बानेश्वरस्थित वान सिनेमाजका महाप्रबन्धक उमेशराज गिरीलाई सम्पर्क गरेका थियौं । उनका अनुसार ‘जारी’ रिलिजको एक महिनासम्म हलमा दर्शकको उपस्थिति राम्रै रहे पनि त्यसपछि भने खस्केको छ । 

‘हलमा जारी लागुन्जेलसम्म दर्शक आइरहनुभएको थियो । तर यो फिल्मपछि दर्शकलाई हलसम्म तान्ने खालका फिल्म आएनन्’, उनले भने, ‘आदिपुरुष रिलिज हुँदा पनि दर्शकको हाउसफूल उपस्थिति थियो । तर त्यो फिल्ममा महानगरपालिकाले रोक लगाएपछि भने अहिले हलको अवस्था बिजोग नै छ । अन्य भाषाका फिल्म रिलिज गरे पनि दर्शकको उपस्थिति अत्यन्त नगन्य छ ।’
उनका अनुसार अन्य समय र अहिलेको अवस्था तुलना गर्दा व्यापारमा करिब ८० प्रतिशत गिरावट आएको छ ।