पलको योजनाः अभिनय सिक्ने, वर्षमा एउटा फिल्म आफ्नै लगानीमा बनाउने


गतबर्षको फागूण १५ गते एक बर्ष लामो जेल जीबनबाट बाहिर निस्किएपछि नायक पल शाहले निरन्तर म्युजिक भिडियोमा काम गरिरहेका छन् । पलले जेलबाट निस्किएपछि एक दर्जन भिडियोमा काम गरिसकेका छन् । 

तर, पल शाहको योजना भिडियोमा मात्र काम गर्ने छैन । उनी, फिल्ममा पनि काम गर्नका लागि तयार हुँदैछन् । 

पलले फिल्मका लागि अभिनय सिक्ने तयारी समेत गरेका छन् । पलले निर्देशक तथा कलाकार अनुप बरालसँग अभिनय सिक्ने तयारी गरेका हुन् । पललाई फिल्ममा शक्तिशाली अभिनय गरेर दर्शकको मन जित्नु छ । यसैले, पनि उनी अभिनय सिकेर आफूलाई अभिनयमा अझै अब्बल बनाउन चाहन्छन् । 

वुझिएअनुसार, पलले बर्षमा २ वटा फिल्ममा अभिनय गर्ने योजना समेत बनाएका छन् । जसमध्ये, एउटा फिल्म उनी आफ्नै निर्माण गर्ने सोचमा छन् । श्रोतका अनुसार, पलले एउटा आफ्नै ब्यानरको र अर्को बाहिरी ब्यानरको फिल्ममा काम गर्ने योजना बनाएका छन् । 

पलले भदौबाट काम गर्न लागेको फिल्मलाई भने दिनेश राउतले निर्देशन गर्दैछन् । फिल्मको नाम अहिलेसम्म तय गरिएको छैन । विकास सुवेदीले नै पलका लागि कथा  लेखिरहेका छन् । पल आफूलाई लभ स्टोरी फिल्मको नायक नै बनाउन चाहन्छन् । तर, यसपटक लभ स्टोरीमा पनि केही विविधता पस्कने तयारी उनको छ । 

जेलबाट निस्किएपछि पलले करिअर जस्तो बन्छ भनेर सोचेका थिए, त्यस्तो बनिरहेको छैन । उनलाई फिल्मबाट जुन संख्यामा अफर आउँछ भन्ने थियो, त्यो पनि भएन । यसैले, पल अब अभिनयमा नै केही गम्भिर हुने दौडमा लागेका हुन् ।