भारतीय फिल्म रोक्ने बालेनको निर्णयविरुद्ध अदालत पुगे प्रदर्शक


हिन्दी फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद नहटाएसम्म कुनै पनि भारतीय फिल्म रिलिज गर्न नदिने निर्णय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गरिसकेका छन् । यो सँगसँगै आजबाट काठमाडौं महानगरपालिकासहित देशभर ‘आदिपुरुष’को प्रदर्शन रोकिएको छ । 

तर, यो फिल्ममा समावेश संवाद भारतमा समेत नसच्चिएसम्म कुनै पनि भारतीय फिल्म रिलिज गर्न नदिने बालेनको घोषणाले प्रदर्शकसँगै केही फिल्मीकर्मीहरुलाई आक्रोशित बनाएको छ । 

योसँगै चलचित्र प्रदर्शकहरु अदालत पुगेका छन् । चलचित्र संघका उपत्यका प्रदर्शन सभापति प्रज्ज्वल शमशेर जबराले प्रदर्शकहरुले अदालत पुगेको बताए । उनले भने–‘केही समयमा नै हामी आधिकारिक निर्णय सार्वजनिक गर्दछौं । हामीले अदालतमा उजुरी दिदैछौं ।’

बालेनले कुनै पनि हिन्दी फिल्म रिलिज गर्न नदिने घोषणा गरेसँगै फिल्मीकर्मीहरुले समेत यसको विरोध गरिरहेका छन् । कतिपय फिल्मीकर्मी भने बालेनको समर्थनमा उत्रिएका पनि छन् ।