देशभरका हलमा ‘आदिपुरुष’ रोक्ने वितरकको निर्णय, भन्छन्–‘कति डुब्यो नसोध्नुहोस्’
देशका विभिन्न स्थानमा हिन्दी फिल्म ‘आदिपुरुष’ रोक्ने निर्णय भएसँगै वितरकले पनि यो फिल्म रोक्ने बताएका छन् । यो फिल्मलाई नेपाल वितरण गरिरहेको ब्यांकटसले सोमबारदेखि देशभर नै फिल्मको रिलिज रोक्ने बताएको छ ।
यो कम्पनीका निर्देशक मनोज राठीले मेरो फिल्मसँग कुरा गर्दै भने–‘अधिकांश हलले नै सुरक्षाको कारण देखाएर फिल्म रिलिज रोकिसकेका छन् । अब, हामीले मात्र चलाएर के गर्नु ? यसैले, आजबाट फिल्म रोक्ने निर्णय गरेका हौं ।’
राठीले हल व्यवसायीहरुले कुनै आधिकारिक पत्र बिना नै फिल्म रोकेको बताउँदै केही ठाउँमा मात्र चलाउनुको औचित्य नभएकाले रोकेको बताए ।
यो फिल्मलाई काठमाडौं, पोखरा, धरान, विरगञ्ज, जनकपुर लगायतका स्थानमा नचलाउने निर्णय प्रदर्शकहरुले गरिसकेका छन् । यसैले, वितरकले पनि अब फिल्म रोक्ने निर्णय गरेका हुन् ।
कति डुब्यो नसोध्नुहोस्ः राठी
वितरक मनोज राठीले आफूहरु कति रकम घाटा गयौं भनेर नसोध्न पत्रकारलाई आग्रह गरेका छन् । उनले भने–‘भारतको निर्माण कम्पनीले त पैसा पाइसकेको छ । उनीहरुलाई नेपालमा फिल्म चलोस् या नचलोस्सँग कुनै मतलब नै छैन । डुब्ने त हामी हो । यो कुरा न प्रशासनले बुझ्यो, न प्रदर्शकले नै वुझे ।’
उनले, अफिसमा ताला लगाएर हिड्ने बेला भएको भन्दै गुनासो गरे । राठीले हलहरुबाट नै फिल्म उतारिएकाले आफूहरु कानुनी उपचारमा नजाने बताए ।
अरु हिन्दी फिल्म के गर्ने त्यो हेर्दैछौ
वितरक राठीले काठमाडौं र पोखरा महानगरपालिकाले ‘आदिपुरुष’को संवाद नसच्चिएसम्म अरु भारतीय फिल्म पनि रिलिज गर्न नदिने निर्णय गरेको बिषयमा आफूहरुले अहिले केही भन्न नसक्ने बताए । उनले भने–‘आदिपुरुषका निर्माताले त त्यो संवाद सच्याउँदै सच्याउँदैनन् । उनीहरुले हाम्रो कुरा पनि सुन्दैनन् । यसैले, अब अरु हिन्दी फिल्म के हुन्छ, हेर्दैछौं ।’
प्रतिक्रिया