काठमाडौंपछि पोखरामा रोकियो ‘आदिपुरुष’को प्रदर्शन


भारतीय फिल्म ‘आदिपुरुष’को प्रदर्शन काठमाडौं महानगरपालिकापछि पोखरा महानगरपालिकामा रोकिएको छ । पोखराका मेयर धनराज आचार्यले सबै हललाई पत्र काट्दै फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएका हुन् । 

आज बिहानबाटै यो फिल्म प्रदर्शन नगर्न महानगरपालिकाले सम्पूर्ण हल संचालकहरुलाई पत्र काटेको हो । योसँगै देशका दुई ठूला महानगरपालिकामा फिल्मको प्रदर्शन रोकिएको छ । 
आज बिहानैबाट काठमाडौं भित्रका सबै हलहरुबाट ‘आदिपुरुष’को बुकिङ हटाइएको छ । 

शुक्रबारदेखि रिलिज भएको यो फिल्मले नेपालसँगै भारतमा पनि चर्को आलोचना भोगिरहेको छ । फिल्मको कथावस्तुलाई लिएर भारतमा विरोध भएको छ । नेपालमा भने ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवादले विवाद खडा गरेको हो । यसपछि, काठमाडौं महानगरका मेयर बालेन शाहले ३ दिनको अल्टिमेटम दिदै फिल्मबाट सो संवाद नहटाइए हिन्दी फिल्म नै प्रदर्शन गर्न नदिने घोषणा गरेका थिए । 

आइतबार बेलुकी यो फिल्मका निर्माताले बालेन र चलचित्र विकास बोर्डलाई पठाएको पत्रमा फिल्म भित्र नेपालीहरुको भावनामा आहात पुग्ने खालको संवाद नभएको जिकिर गरेका थिए ।