माफी माग्दै ‘आदिपुरुष’ निर्माताको बालेनलाई पत्र, तर फिल्म रिलिज रोकिने
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र चलचित्र विकास बोर्डलाई पत्र लेख्दै फिल्म ‘आदिपुरुष’का निर्माताले फिल्म भित्र नेपालीहरूको भावनालाई ठेस पुर्याउने कुनै सोच नभएको उल्लेख गरेका छन् । फिल्मकी निर्माता राधिका दासले लेखेको पत्रमा भनिएको छ–‘हामीले यदि नेपालका जनताहरुको भावनालाई कही कतै बाट ठेस पुर्याएका रहेछौँ भने माफी माग्न चाहन्छौं । तर, हाम्रो सोच कहिले पनि कसैको भावनामा ठेस पुर्याउने रहेको थिएन ।’
पत्रमा फिल्ममा समावेश गरेको संवादले ‘जानकी भारतमा जन्मिएकी हुन्’ भन्ने आशय व्यक्त नगरेको पनि उल्लेख गरिएको छ । पत्रमा भनिएको छ–‘फिल्म भित्र प्रभाषले बोलेको संवादले (आज मेरे लिए मत लड्ना, उस दिन के लिए लड्ना जब भारतकी किसी वेटी पर हात डाल्ने से पहेले दुराचारी तुम्हारा पौरुष याद कर्के थर् उठेगा) सिता माताको जन्म स्थानको बिषयमा उल्लेख गर्दैन ।’
पत्रमा एक भारतीय नागरिक भएको नाताले विश्वभरका महिलाहरुलाई सम्मान गर्ने उल्लेख गरिएको छ ।
निर्माता दासले लेखेको पत्रमा फिल्मलाई कलात्मक रुपमा हेर्न र विश्वभरका नागरिकहरुलाई एउटा इतिहास देखाउने आफूहरुको प्रयासमा सहयोग गर्न आग्रह गरिएको छ ।
फिल्म रिलिज रोक्ने घोषणा स्थगीत हुँदैनः बालेनको सचिवालय
तर, मेयर बालेन शाहले भने निर्माताले पठाएको पत्रकै कारणले हिन्दी फिल्मको रिलिज रोक्ने घोषणा स्थगीत नहुने बताएका छन् । बालेनको सचिवालयले मेरो फिल्मसँग भन्यो–‘त्यो पत्रमा हामीले उठाएको बिषयमा सम्बोधन भएको छैन । फिल्मको सोही संवादले देशको इतिहास र विभुतीमाथि विश्वभर धक्का लागेको छ । यो पत्र आँखामा धुलो छर्ने खालको मात्र छ । मेयरज्यूले पनि फिल्म रिलिज रोक्ने घोषणा स्थगीत नहुने बताउनुभएको छ ।’
मेयर बालेन शाहले भोलीबाट काठमाडौं महानगरपालिका भित्रका कुनै पनि हलमा ‘आदिपुरुष’ फिल्मको संवाद नसच्चिएसम्म भारतीय फिल्म रिलिज गर्न नदिने घोषणा गरिसकेका छन् । जसअनुसार, नगर प्रहरीले काठमाडौंका सबै हलमा पुगेर भोलीदेखि फिल्म नचलाउन आग्रह गरिसकेको छ ।
प्रतिक्रिया