बालेनको घोषणा–‘भोलीबाट महानगर भित्र भारतीय फिल्म रिलिज निधेष’
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भोलीबाट भारतीय फिल्म रिलिज निषेध गरिएको घोषणा गरेका छन् । फिल्म ‘आदिपुरुष’मा समावेश आपत्तीजनक संवाद नहटाएसम्म काठमाडौं महानगरपालिका भित्रका हलमा भारतीय फिल्म रिलिज निषेध गरिएको उनले सामाजिक संजालबाट घोषणा गरेका छन् ।
सामाजिक संजालमा उनले लेखेका छन्–‘भारतीय फिल्म आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तीजनक सन्देश उक्त फिल्मको मुल भागबाट हटाउन हामीले ३ दिन पहिले आह्वान गरेका थियौं । नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण राखी राष्ट्र हितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैह्रसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन । नेपालको संविधानको धारा ५ र ५६ को उपधारा(६)ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त फिल्म यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांकृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपुरणिय क्षति हुने देखिन्छ । उक्त फिल्मबाट नेपालमाथि सांकृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
बालेन अगाडि लेख्छन्–‘काठमाडौ महानगरपालिकाका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको फिल्मको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो फिल्म प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकाले उक्त फिल्मबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय फिल्म प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ ।’
बालेनको यो घोषणासँगै भोलीबाट काठमाडौं महानगरपालिका भित्रका हलमा फिल्म ‘आदिपुरुष’ नचल्ने पक्का भएको छ । महानगरले आज बेलुका नै महानगर प्रहरी हलमा पठाउने तयारी गरेको छ ।
प्रतिक्रिया