‘राष्ट्रियता भन्दा माथि कोही छैन’ भन्दै द्धारिका उदय हलमा चलाइएन ‘आदिपुरुष’
चलचित्र संघका पूर्व अध्यक्ष समेत रहेका प्रदीप कुमार उदयले बुटवलमा संचालन गरिरहेको ‘द्धारिका उदय सिनेमा’मा फिल्म ‘आदिपुरुष’को प्रदर्शन गरिएको छैन । शुक्रबारदेखि नै हलमा फिल्म नचलाइएको प्रदीपकुमार उदयले जानकारी दिए ।
उनले भने–‘भारतीय फिल्म आदिपुरुषको सम्बन्धमा राष्ट्रवादीहरु गम्भीर हुन जरुरी छ । राष्ट्रियता भन्दा माथि कोही र केही हुनै सक्दैन । दर्शकवृन्दमा क्षमा माग्दै द्धारिका उदय सिनेमामा फिल्म आदिपुरुष नचल्ने जानकारी गराउन चाहन्छु । धन्यवाद । जय राष्ट्र । जय राष्ट्रियता ।’
संचालक उदयले आफूलाई कोहीबाट पनि फिल्म नचलाउन दबाब नआएको भन्दै स्वस्फूर्त रुपमा नै फिल्म रिलिज नगरेको बताए । हाल हल बन्द रहेको उनले बताए ।
यो फिल्मले नेपालको राष्ट्रियता र विभुतीमाथि भ्रम फैलाउने काम गरेको छ । साथै, फिल्मका लेखकले दिएको पछिल्लो अभिव्यक्तिले नेपालको राष्ट्रियता, स्वाधिनतामाथि पनि ठाडै प्रहार गरेको छ ।
काठमाडौं महानगरपालिकाले भने भोलीबाट महानगर भित्रका सबै हलमा फिल्म ‘आदिपुरुष’को रिलिज रोक्ने तयारी गरेको छ । यसका लागि महानगर प्रहरी आज बेलुकाबाट नै हलमा पठाएर भोलीबाट फिल्म रिलिज नगर्न आग्रह गर्ने तयारी मेयर बालेन शाहको छ ।
प्रतिक्रिया