दीपेन्द्रको आक्रोश–राष्ट्रियताको विषयमा सरकार चुप नै रहने हो भने देश नै बेचिदिए भई गयो नि !
गत शुक्रबारबाट रिलिज भएको भारतीय फिल्म ‘आदिपुरुष’ रिलिज हुनासाथ विवादमा तानिएको छ । खासगरी फिल्ममा ‘सीता भारतकी छोरी हुन्’ भन्ने संवाद राखिएपछि नेपालमा यसको व्यापक विरोध भइरहेको छ ।
भारतमा पनि फिल्मले रामायणको कथावस्तुलाई तोडमोड गरेको र त्यसका पात्रको प्रस्तुतिकरणलाई रामायणको मर्म विपरित प्रस्तुत गरिएको भन्दै विभिन्न धार्मिक संगठनसँगै दर्शकहरुले पनि तिब्र विरोध गरिरहेका छन् । यहीकारण भारतका कतिपय स्थानमा फिल्म प्रतिबन्धको माग चलिरहेको छ भने कतिपय स्थानमा हलमै तोडफोड समेत भएको छ ।
फिल्मका संवाद लेखक मनोज मुन्तशिरले आजतक टेलिभिजनमा ‘नेपाल सन् १९०३ मा भारतबाट स्वतन्त्र भएको’ विवादास्पद अभिव्यक्ति दिएपछि नेपालमा यो फिल्म बहिस्कारको माग तिब्र रुपमा बढेको छ ।
नेपाली फिल्मका लेखक तथा निर्देशक दीपेन्द्र के खनालले पनि सामाजिक सञ्जालमार्फत फिल्म बहिस्कारको माग गरिसकेका छन् । ‘कुनै पनि इतिहासको कुरामा लेखकले मनगढन्ते विषय लेख्नु हुँदैन । फिल्ममा काल्पनिक कथा लेखिएका हुन्छन् । तर ती काल्पनिकतामा पनि धेरै कुरा सोच्नुपर्ने हुन्छ । अझ यो त इतिहासको कुरा हो । किनकी योसँग समाज, जनता र राष्ट्रियता जोडिएको हुन्छ’, मेरोफिल्मसँग दीपेन्द्रले भने, ‘सामान्यतया नेपालबाट कोही चेली विवाह गरेर भारत जाँदा त्यहाँ पनि छोरी भन्ने चलन नै छ । त्यो हिसाबले मैले सुरुवातमा खासै केही भनेको थिइनँ । तर मनोजको अन्तरवार्ता हेरेपछि भने जानाजान उसले नेपालको अस्मितामाथि धावा बोलेको देखेपछि भने मलाई असह्य भयो । ५ सय करोडको फिल्म बनाएँ भन्दैमा नसोची र नबुझी जे मनमा लाग्यो त्यही बोल्ने छुट कसैलाई छैन । त्यतिको बौद्धिक लेखकले संवेदनशिल विषयमा अध्ययन बिना नै बोल्नु अर्काको राष्ट्रियतामाथि धावा बोल्नु हो ।’
दीपेन्द्रले मनोज मुन्तशिरले सन् १९०३ देखि भारतबाट नेपाल स्वतन्त्र भएको अभिव्यक्ति दिएपछि आफूलाई असह्य भएको बताए । ‘त्यही कारण सामाजिक सञ्जालमार्फत मैले फिल्म बहिस्कारको माग गरेको हुँ,’ उनले भने ।
दीपेन्द्रले पौराणिक कुरासँग जोडिएर फिल्म लेख्दा हरेक कुरामा गम्भीर हुनुपर्ने भन्दै यस्तो गलत सन्देश दिने काम गर्दा भावी पुस्ताका लागि गलत नजिर बस्ने चेतावनी दिए । उनले फिल्मलाई लिएर सामाजिक सञ्जालदेखि फिल्म क्षेत्रमा विरोध भइरहँदा सरकारको कुनै प्रतिक्रिया नआउनु आपत्तिजनक भएको बताए ।
‘फिल्मका लेखकले एक टेलिभिजनमार्फत जानाजान बोल्दा पनि नेपाल सरकार कानमा तेल हालेर बसेको छ । यस्तो अक्षम्य कुरा गर्दा पनि सरकारले मुख खोलेको छैन’, दीपेन्द्र आक्रोश पोख्छन्, ‘नेपालमा राजनीतिक हिसाबले भारतले अतिक्रमण गरिरहँदा अहिले आएर फिल्मका माध्यमबाट अतिक्रमण गर्दा पनि सरकार चुप नै छ । मेयर बालेन शाहले सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै चासो नदेखाउनु लज्जास्पद विषय हो । राष्ट्रियताको विषयमा सरकार चुप नै रहने हो भने देश नै बेचिदिए भई गयो नि !
प्रतिक्रिया