किन चल्नुपर्छ कुन्साङ र आर्शिवाद ?


नेपाली फिल्म क्षेत्रमा नायकहरुको चरम अभाव छ । फिल्म बनाउनका लागि नायकको खोजीमा दौडिने अधिकांश निर्माता–निर्देशक रित्तो हात फर्किने गरेका छन् । नाम चलेका केही कलाकारहरु सिमित गुटमा बस्दा धेरै निर्माता निर्देशकलाई फिल्म बनाउन नै धौ धौ परिरहेको छ । 

अनमोल केसी, प्रदीप खड्का जस्ता नायकहरु बर्षमा मुश्किलले एउटा फिल्म खेल्छन् । पल शाहको कमब्याक कस्तो हुन्छ भन्न सकिने अवस्था छैन । धिरज मगरलाई फिल्ममा खेलाउन सहज छैन । 

दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की जस्ता नायकहरु हरेक भूमिकाका लागि फिट छैनन् । विशेषगरि, अर्गानिक फिल्म उनीहरुको रोजाइमा छ । यस्तो अवस्थामा नेपाली फिल्म क्षेत्रमा नायकको चरम अभाव धेरै निर्माताहरुले भोगिरहेका छन् । 

यसैबिच, यो बर्ष नेपाली फिल्म क्षेत्रमा २ आशातित नायकहरुको प्रवेश भएको छ । फिल्म ‘नाई नभन्नु ल ६’बाट नायक आर्शिवाद क्षेत्रीले फिल्म क्षेत्रमा पाइला राखे । डेब्यू फिल्म नै असफल भएपनि उनलाई यसले खासै फरक पारेको छैन । किनकी, उनले दिवाकर भट्टराइको निर्देशनमा बन्न लागेको फिल्म ‘मायाबी’मा काम गर्ने पक्का भैसकेको छ । यस्तै, उनले अर्को एक नयाँ फिल्म पनि साइन गरिसकेका छन् । 

यस्तै, यो बर्ष नै नायक कुन्साङ बोमजमले पनि फिल्म क्षेत्रमा पाइला राख्दैछन् । नायिका पूजा शर्मासँग उनले फिल्म ‘दान्भी’मा काम गर्ने पक्का भैसकेको छ । फिल्मको फस्टलुकले नै बजारमा राम्रो चर्चा पाइसकेको छ । 

यी दुई नायक नेपाली फिल्म क्षेत्रमा चम्किएको खण्डमा धेरै निर्माताको लागि राहत बन्न सक्छन् । उसो त, भोलीका दिनमा उनीहरुले काम गर्ने तरिकाले पनि धेरै कुरा बताउनेछ । तर, फिल्म क्षेत्रमा नायकहरुको चरम अभाव भैरहेको समयमा कुन्साङ र आर्शिवादको प्रवेशलाई सुखद मान्नुपर्छ ।