कुन स्वार्थमा भारतमा रिलिज हुँदैछ 'परस्त्री' ?

आगामी असार १५ गतेबाट रिलिज हुन लागेको फिल्म हो, परस्त्री । यो फिल्मलाई निर्माता शर्मिला पाण्डेले भारतमा पनि रिलिज हुने भन्दै प्रचारप्रसार गरिरहेकी छन् । सुन्नमा आए अनुसार उनीहरुले भारतमा फिल्मको प्रिमियर पनि गर्दैछन् । 

यसका लागि शर्मिला र उनका निर्देशक छोरा सुरज पाण्डे आगामी साता भारत जाँदैछन् । फिल्म ‘लभ लभ लभ’बाट अभिनयमा डेब्यू गरेका सुरजको फिल्म ‘परस्त्री’मा डेब्यू निर्देशन छ । 

यो फिल्म भारतका प्रमुख तीन सहरमा प्रिमियर गर्ने निर्माण पक्षको तयारी छ । शुक्रबारमात्र राजधानीमा केही सीमित पत्रकारमाझ भारतमा फिल्म रिलिज गर्ने कारणबारे निर्देशक सुरजले मुख खोले । 

पत्रकारले ‘भारतमा किन फिल्म रिलिज गर्न लागियो ?’ भनी सोधेको प्रश्नमा उनले ठाडै भने, ‘पैसा कमाउनका लागि रिलिज गर्न लागिएको हो ।’

सुरज सायदै त फिल्म ‘प्रेमगीत ३’को भारत रिलिजबाट लोभिएको हुनुपर्छ । किनकी इन्डो–नेपाली फिल्मका रुपमा रहेको ‘प्रेमगीत ३’ भारतमा रिलिज हुँदा यसले राम्रो चर्चा पाएको थियो । भलै यो फिल्मले भारतीय बक्सअफिसमा कति व्यापार गर्यो भन्ने आधिकारिक तथ्यांक सार्वजनिक भइसकेको छैन । भलै निर्माताले करोड बढी कमायो भन्ने दाबी गरिए पनि त्यो दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

निश्चय नै स्वीकार्य कुरा के हो भने बलिउड विश्वको दोस्रो ठूलो फिल्म बजार हो । यहाँ जुनसुकै देशका निर्माता तथा निर्देशकहरु आफ्नो फिल्म रिलिज हुन् भन्ने चाहन्छन् । सायदै त यो लोभ र मोह ‘परस्त्री’ निर्देशक सुरजमा पनि परेको हुनसक्छ ।

त्यसो त यही लोभमा यसअघि डा. कपिल रिजाल निर्देशित फिल्म ‘ह्यारी कि प्यारी’ भारतमा पनि रिलिज हुने हल्लाखल्ला गरिएको थियो । तर हल्ला केवल हल्लामै सिमित रह्यो किनकी फिल्म त्यहाँ अझैसम्म रिलिज हुन सकेको छैन ।

सुरजका अनुसार नेपालमा ‘परस्त्री’ सुटिङ हुँदा कलाकारले हिन्दी संवाद नै बोलेका थिए । तर नेपाली कलाकारले बोल्दा बोलीमा नेपालीपन आउने देखिएपछि भारतमा डबिङ आर्टिस्ट लिएर डब गरिएको थियो । 

सुरजले ‘पैसा कमाउन भारतमा रिलिज गर्न लागेको’ बोले पनि उनको फिल्म हेर्न दर्शक आउँछन् भन्ने ग्यारेन्टी चाहिँ के छ ? किनकी यसअघि रिलिज ‘प्रेमगीत ३’लाई नै हेर्ने हो भने पनि नेपालमा यो फिल्मको ठूलै हल्ला सुनियो । तर भारतमा निर्माताले सोचे अनुरुप दर्शकको साथ भने पटक्कै पाएन । 

उखानै छ, ‘धन भनेपछि महादेवको पनि तीन नेत्र बल्छ’ । भारतमा ‘परस्त्री’ रिलिज गरेर पैसा कमाउने सुरजको दाउ अनुसार उखान जस्तै फिल्म रिलिज पछि उनका पनि नेत्र बल्छन् या बल्दैनन्, त्यो थाहा पाउन रिलिज मितिसम्म कुर्नैपर्छ ।