सरोज खनाल निर्देशित ‘बगान’ असार २९ मा रिलिज हुने

अभिनेता सरोज खनालको डेब्यु निर्देशन रहेको फिल्म ‘बगान’ को प्रदर्शन मितिसहित पोस्टर सार्वजनिक गरिएको छ । 

बिहीबार एक पोस्टर सार्वजनिक गर्दै यही असार २९ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीलाई देख्न सकिन्छ । अभिनेता आकाश श्रेष्ठ विशेष भूमिकामा छन् । 
 
यो फिल्ममा तीन पुस्ताका कलाकारहरुको एकसाथ अभिनय रहेको छ । नेपालको पहिलो फिल्म ‘आमा’की अभिनेत्री बसुन्धरा भुषालसहित नीर शाह, मिथिला शर्माकोअभिनय रहेको छ । 

फिल्मको बिषयबारे प्रष्ट पार्दै निर्देशक तथा पटकथाकार खनालले नाटक मञ्चन गर्ने तयारी सन्दर्भमा नाट्यकर्मी सुनिल पोखरेलले उपलब्ध गराएको कथासंग्रहबाट ‘बगान’ बनाएको बताए । “पुस्तकमा रहेका कथाहरु पढ्दै जाँदा स्वप्न नीरवजी को कथामा गएर म अड्किएँ । त्यहाँ उहाँले एउटा विशाल प्रश्न खडा गर्नुभएको रहेछ । मलाई यो प्रश्नको उत्तर हामीले दिनैपर्छ भन्ने लाग्यो” खनालले भने, “लेख्नेले त लेखेर आफ्नो दायित्व पुरा गर्नुभयो । एक व्यक्तिले उठाएको मुद्दालाई अन्य व्यक्तिहरुले समाजमा उजागर गर्नु हाम्रो धर्म हुन्छ  । त्यसकारण मैले उक्त कथाको स्क्रिप्ट लेखी फिल्म बनाए  । हामी एक्काइसौ शताब्दीमा छौं, समानताको कुरा गर्छौं तर कर्म गर्दैनौँ । मैले यो फिल्मको माध्यमबाट कर्म गर्न खोजेको हो”, उनले बताए ।

सुरेश वाग्ले प्रस्तुतकर्ता र विनोद मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स। तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ ।

नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने  कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । 'बगान'को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।