चलचित्र संघको निर्देशनमा रोकियो ‘आदिपुरुष’को बिहानी शो
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतमा जन्मिएकी हुन्’ भन्ने आशयको संवाद भारतबाट समेत नहटाइएको खण्डमा सोमबारदेखि कुनै पनि हिन्दी फिल्म काठमाडौं महानगरपालिका भित्रका हलमा चलाउन नदिने चेतावनी दिए ।
बालेनले बिहिबार बेलुकी यस्तो चेतावनी दिएपछि ‘आदिपुरुष’को रिलिज के हुन्छ भन्ने प्रश्न उठेको थियो ।
तर, चलचित्र संघले आफ्ना सदस्य हलहरुलाई एक पत्र पठाउँदै आज बिहानका सम्पूर्ण शोजहरु रद्द गर्न निर्देशन दिएको छ । चलचित्र संघको निर्देशनपछि आज बिहानका सम्पूर्ण शोजहरु रद्द भएका छन् ।
चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थले मेरो फिल्मसँग कुरा गर्दै संघले काठमाडौंका सम्पूर्ण हलहरुलाई पत्र काटेर शोज रोक्न निर्देशन दिएको बताए । अब कसरी अगाडि बढ्ने भन्ने बिषयमा संघले आकस्मिक बैठक बोलाएको छ । बैठकबाट नै सम्पूर्ण निर्णय लिने गोपालकाजीको भनाई छ ।
चलचित्र संघका प्रदर्शन सभापति प्रज्ज्वल शमशेर जबराले मेरो फिल्मसँग भने–‘महानगरका मेयर बालेन शाहको स्टाटससँगै अन्य थुप्रै कारणले गर्दा पनि हामीले फिल्मको रिलिज बिहानलाई रोकेका हौं । प्रदर्शकहरुले फिल्म चलाएर मात्र हुँदैन, शान्ती सुरक्षाको बिषयमा पनि ध्यान दिनुपर्छ । हलमा फिल्म चलाउँदा कुनै घटना घट्यो भने के हुन्छ ? यसैले, बिहान ९ बजे संघको मिटिङ बसेर निर्णय गर्छौ । अहिलेलाई मध्यान्न १२ बजेसम्म फिल्म नचलाउने भन्ने हो ।’
संघको निर्र्णयसँगै क्यूएफएक्स, वान सिनेमाज्, बीग मुभिज लगायतका हलहरुले बिहानीको शो रद्द गरेका छन् । ‘आदिपुरुष’को बिहानीको शोका लागि समेत आक्रामक टिकट बुकिङ भएको छ ।
प्रतिक्रिया