एक फिल्म नसक्दै दुई फिल्मको तयारीमा दिवाकर

निर्देशक दिवाकर भट्टराईले आफ्नै होम प्रोडक्शनमा अभिनेत्री पत्नी दीपिका प्रसाई र आशीर्वाद क्षेत्रीलाई लिएर नयाँ फिल्म बनाउने तयारी गरिरहेका छन् । उनले एक वर्षअघि नै फिल्म ‘हनी बनी’ निर्माण गरे पनि फिल्म रिलिजको चाइँचुइँ हल्ला पनि छैन । एउटा फिल्मको काम नसकिँदै अहिले उनी हतारोमा अन्य दुई फिल्म निर्माणको काममा लागेका छन् । 

मेरो फिल्मले उनीसँग सम्पर्क गर्दा उनले ‘हनी बनी’को पोस्ट प्रोडक्सनको काम भइरहेको बताए । ‘फिल्मको गीत र केही भाग दृश्य नेपालमा छायांकन गर्नुपर्नेछ । यी दुई काम सकेपछि ‘हनी बनी’को काम पुरा हुनेछ । त्यसपछि मात्र फिल्मको प्रदर्शन मिति र प्रमोसनका सामाग्रीहरु बाहिर ल्याउनेछौँ’, उनले भने । दिवाकरले दीपिका र आशीर्वादबाहेक अर्को फिल्मको बारेमा विस्तृत खुलाउन मानेनन् ।

दिवाकरको भनाइलाई बुझ्ने हो भने नयाँ फिल्मको लागि क्यामरा ‘अन’ हुँदा त्यो फिल्मसँगै ‘हनी बनी’का बाँकी दृश्य पनि खिच्ने उनको योजना प्रष्ट देखिन्छ । 

उनले गर्न लागेको नयाँ प्रोजेक्ट पूर्ण प्रेमकथाको रहनेछ । यसका लागि उनले फिल्ममा आशीर्वाद र दीपिकाको जोडी बाँध्दैछन् । यसका लागि आशीर्वादले यसअघि ‘नाइँ नभन्नू ल ६’मा अभिनय गरिसकेको हुनाले उनलाई अनुबन्ध गर्नका लागि धेरै सोच्नु नपरेको दिवाकरको दाबी छ । ‘मैले आशीर्वादको अडिसन लिएको छैन । उनीसँग क्यामरा टेस्ट मात्र गरेर फिल्ममा लिएको हुँ’, दिवाकरले भने । फिल्मको छायांकन साउनमा सुरु हुने दिवाकरको भनाई छ ।

अभिनेत्री दीपिका पछिल्लो पटक फिल्म ‘हेल्लो जिन्दगी’मा अभिनय गरेपछि गुमनाम नै छिन् । भलै उनी फिल्ममा सक्रिय नभए पनि सामाजिक सञ्जालमा उनको सक्रियता निकै देखिन्छ । 

दिवाकरसँग दीपिकाले लगनगाँठो कसेपछि उनले फिल्मको लगनगाँठो तोडेको आरोप पनि उनी माथि छ । वास्तविकता हेर्दा पनि त्यस्तै देखिन्छ । सम्भवत यही कुरा बुझेका दिवाकरले यो ‘भ्रम’लाई चिर्नका लागि दीपिकालाई प्रेमकथाको फिल्ममार्फत दर्शकमाझ फर्काउन लागेका छन् ।