नेफ्टा अवार्डमा नोमिनेशनमा परेकालाई वेवास्ता, नपरेकालाई लैजाने तयारी
साउनको ६ गते अमेरिकामा आयोजना हुन लागेको ‘११ औं नेफ्टा फिल्म अवार्ड’ विवादमा परिरहेको छ । अनाधिकृत व्यक्तिहरुको प्रवेश भएको भन्दै अवार्ड आयोजक मध्येको एक आर्यन फिल्मस्ले हात झिकिसकेको छ । यही विवादपछि आयोजकले ४१ जनाको सूचीलाई २९ मा झारिसकेको छ ।
यो अवार्डका लागि उत्कृष्ट ५ को सूची पनि सार्वजनिक भइसकेको छ । तर, हाँस्यास्पद कुरा के छ भने, आयोजकले अवार्डको उत्कृष्ट ५ मा परेका मध्ये धेरै फिल्मीकर्मीलाई अमेरिकामा लैजानका लागि कुनै प्रोसेस नै गरेको छैन । विशेषगरि, चिनिएका अनुहारलाई मात्र अवार्डमा सहभागी गराउने योजना आयोजकको छ ।
यसैले, उत्कृष्ट ५ मा परेकामध्ये अधिकांश विधाका प्रतिस्पर्धीहरुलाई आयोजकले चिनिएका अनुहारलाई मात्र लैजाने भएकाले भिषा प्रोसेसमै नलैजाने जवाफ दिएको छ । एक प्रतिस्पर्धीले मेरो फिल्मसँग कुरा गर्दै भने–‘हामीले भिषा प्रोसेसका बारेमा वुझ्दा सोझै आयोजकले चिनिएका अनुहारलाई मात्र लैजाने जवाफ दिएको थियो । यदि, अवार्डको विजेतालाई नेपालबाटै छनोट गरेर लैजाने हो भने उत्कृष्ट ५ निकाल्नुको अर्थ के हुन्छ र ?’
आयोजकको अर्को हाँस्यास्पद कुरा के छ भने, उत्कृष्ट ५ मा परेकाहरुलाई वेवास्ता गर्दै गर्दा उत्कृष्ट ५ को नोमिनेशनमा नै नरहेका कलाकारलाई भने भिषा प्रोसेसमा सहभागी गराइएको छ ।
अवार्डको उत्कृष्ट ५ मा नपरेकाहरुलाई आयोजकले अमेरिका आउन लागेको जानकारी सहितको भिडियोमा बोल्न लगाएको छ । तर, अन्तरवार्ताका लागि मिति नै तय हुन नसकेकाले पनि अवार्डमा सहभागी हुने अधिकांश फिल्मीकर्मी पहिले नै भिषा भएका मात्र हुने देखिएको छ ।
प्राविधिक संघ र अमेरिकाको आयोजकले ढिलो भिषा प्रोसेस सुरु गर्दा उत्कृष्ट ५ मा परेका अधिकांश फिल्मीकर्मीले अन्तरवार्ताका लागि मिति नपाउने देखिएको छ । यसैले, नेफ्टा अवार्ड अमेरिकामा आयोजना हुने भएतापनि यसले नेपाली फिल्मको विकास र विस्तारमा भूमिका खेल्ने कुरामा फिल्मीकर्मी नै विश्वास गर्न सकिरहेका छैनन् ।
प्रतिक्रिया