‘वान एक्स बेट’को विज्ञापन गरेको आरोपमा ‘बल्छी ध्रुबे’सहित ८ कलाकार पक्राउ
प्रहरीले कलाकार मरिचमान श्रेष्ठ अर्थात ‘बल्छी धु्रबे’ सहित ८ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्या अपराध अनुसन्धान कार्यालयले आठ जनालाई पक्राउ गरेको हो । प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मरिचमानसँगै, राजु पौडेल, पवन खतिवडा, एलिस राई, ज्वलन घर्ति मगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगमन नेपाली छन् ।
प्रहरीले उनीहरुलाई म्याद थप गर्ने तयारी गरिरहेको छ । पक्राउ परेका कलाकारहरुले युट्युबमार्फत वानएक्स बेटको विज्ञापन गरेको आरोप छ । युट्युबमा उनीहरुले प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिएको छ ।
प्रहरीले बुधबार मात्र पाँच जना एजेन्टलाई पक्राउ गरेको थियो । पाँच जनाले मात्र ७४ करोडको कारोबार गरेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ ।
नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ । धारा १२५ को (२) को उपदफा (१) को (क)मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
प्रतिक्रिया