अनाधिकृत व्यक्तिको प्रवेश भएको भन्दै नेफ्टा अवार्डबाट बाहिरियो आर्यन फिल्मस्
आगामी साउन ६ गते अमेरिकामा हुने भनिएको ‘११ औं संस्करणको नेफ्टा फिल्म अवार्ड’ विवादमा तानिएको छ । नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) प्रमुख आयोजक रहेको अवार्डको अमेरिकाको स्थानीय आयोजकमध्येको एक कम्पनीले हात झिकेपछि विवादमा तानिएको हो ।
आयोजकमध्येको आर्यन फिल्मस् प्रोडक्सनले साताअघि निकालेको विज्ञप्तीमा भिषा प्रक्रियामा ‘अनाधिकृत मान्छेको नाम थपिएको’ भन्दै आपत्ति जनाउँदै अवार्ड आयोजनाबाट हात झिकेको उल्लेख गरेको छ ।
संस्थाका महाप्रबन्धक तथा मार्केटिङ प्रमुख गोपाल कटुवालले जारी गरेको विज्ञप्तीमा भिषा प्रक्रियाका लागि निवेदन दिएका ४१ जनामा केही अनाधिकृत मान्छेहरुको निवेदन पनि परेकोले आफूहरु अवार्ड आयोजकबाट पछि हटेको उल्लेख गरिएको छ । यो कम्पनी फिल्म निर्माता तथा निर्देशक रमेश एमके पौडेलको हो ।
विज्ञप्तीमा आफूहरुले नेफ्टालाई अमेरिका–नेपालको राउण्ड ट्रिप, सोल्टी होटलमा कार्यक्रम र अन्य मसलन्दका लागि १५ हजार अमेरिकी डलर दिइएको उल्लेख छ । विज्ञप्तीमा उक्त १५ हजार डलर पूर्ण रुपमा फिर्ता गर्न माग गर्दै आयोजक नै रहेका विमल पंक्षी वा यूएसखबरलाई विस्तृत जानकारीका लागि सम्पर्कमा आउन आग्रह गरिएको छ ।
मेरो फिल्मले यस विषयमा नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामासँग सम्पर्क गर्दा उनले अमेरिकाको स्थानीय आयोजक भनिएका व्यक्ति संस्थागत नभई व्यक्ति मात्र रहेको दाबी गरे । ‘त्यो केही होइन, उहाँहरु व्यक्तिको धारणा हो, यो संस्थाको धारणा होइन भन्ने मेरो बुझाई हो । हामी भोलि यो विषयमा आफ्नो धारणा सार्वजनिक गर्नेछौं’, अध्यक्ष लामाले भने ।
आयोजकले नै हात झिकेपछि ४१ जनामध्येबाट अब २९ जनालाई मात्र लैजाने तयारी नेफ्टाले गरेको फिल्मवृत्तमा चर्चा छ । जसमा एक पत्रकारलाई अध्यक्ष पुष्कर लामाको दबाबमा लैजाने तयारी गरिएको छ ।
अमेरिका जान्छु भनेका कलाकारनै भिषा प्रक्रिया अन्यौलमा
यसैबिच, नेफ्टाले थुप्रै कलाकारसँग अवार्डको बारेमा प्रतिक्रिया लिदै भिडियो सार्वजनिक गरिरहेको छ । जसमा, केही कलाकारहरुले आफू पनि अवार्डमा सहभागी हुन अमेरिका आउने बताइरहेका छन् । तर, भिडियोमा बोल्ने अधिकांश कलाकारको भिषा प्रक्रिया नै अन्यौलमा छ । एक कलाकारले मेरो फिल्मसँग भने–‘अमेरिका जाने त परको कुरा, अन्तरवार्ताका लागि मिति पनि आएको छैन । यसैले, अब अवार्डका लागि अमेरिका जाने कुरा त्यस्तै होला जस्तो छ ।’
अवार्डमा सहभागी हुनका लागि नेफ्टाले भिषा भएका कलाकारसँग हारगुहार गरिरहेको छ । श्रोतका अनुसार, अमेरिकाको भिषा भएका केही कलाकारलाई अमेरिकाको अवार्डमा सहभागी भइदिनका लागि नेफ्टाले आग्रह गरिरहेको छ । तर, अब अवार्ड नै विवादमा आएपछि ती कलाकारहरु पनि अमेरिका जाने संभावना कमजोर बनेको छ ।
प्रतिक्रिया