‘डिसेम्बर फल्स’ निर्माताले लिएपछि ‘गणपति’लाई राहत, भदौ १४ मा रिलिज हुने
कलाकार मुकुन भुषालको मुख्य भूमिका रहेको फिल्म ‘गणपति’ जेठको ५ गते नै रिलिज हुनुपर्ने हो । तर, निर्धारित मितिमा फिल्म रिलिज हुन सकेन ।
फिल्म रिलिज हुन नसक्नुको आ आफ्ना कारण हुनसक्छन् । तर, अब भने फिल्मको सम्पूर्ण अधिकार नै निर्माता रामप्रसाद रिजालले लिएका छन् । फिल्म ‘डिसेम्बर फल्स’ बनाएर डुबेका निर्माता रिजालले यो फिल्मको सर्वाधिकार लिएपछि यसको नयाँ प्रदर्शन मिति पनि तय गरिएको छ । अब, यो फिल्म भदौको १४ गतेबाट रिलिज हुने पक्का भएको छ ।
आस्थाको रुपमा रहेका भगवान् र भौतिक रुपमै पृथ्वीमा रहेको मानिसबिचको फरक देखाउने कथामा बनेको यो फिल्मको टिजर सार्वजनिक भैसकेको छ । फिल्ममा मुकुन भुषाल, मेनुका प्रधान, जयनन्द लामा, कविता न्यौपाने, सूर्यमाला खनाल, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ ।
सविन अधिकारीको लेखन तथा निर्देशनमा यो फिल्म तयार भएको हो । फिल्मको निर्मातामा लक्ष्मण रिजालको नाम जोडिएको छ भने कार्यकारी निर्माताको रुपमा विज्ञान केसी र अरविन्द्र गिरी छन् । यो फिल्ममा हरिबहादुर घलेको छायांकन, अनिस अधिकारीको शब्द तथा संगीत छ ।
प्रतिक्रिया