‘नीरफूल’ हेर्न पुगे भीम रावलदेखि करिश्मा मानन्धरसम्म


शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘नीरफूल’को विशेष शो सोमबार बेलुकी आइप्लेक्स मलमा रहेको वान सिनेमाज्मा आयोजना गरिएको छ । फूलमान बलको निर्देशनमा तयार भएको यो फिल्म हेर्नका लागि फिल्म क्षेत्रदेखि राजनीति क्षेत्रका विभिन्न व्यक्तिहरु हल पुगेका थिए । 

विशेष शोमा पूर्व उपप्रधानमन्त्री डाक्टर भिम रावलदेखि नायिका करिश्मा मानन्धरसम्म पुगेका थिए । उनीहरुले फिल्मको कथावस्तु उत्कृष्ट रहेको भन्दै कलाकारको कामको पनि प्रशंसा गरे ।

पूर्व उपप्रधानमन्त्री रावलले फिल्मले राज्य प्रणालीका थुप्रै समस्याहरुलाई सशक्त रुपमा उतारेको बताए । यस्तै, नायिका करिश्मा मानन्धरले फिल्मको कथावस्तुले फेरि एकपटक वि.सं २०७२ सालको भूकम्पलाई संझाएको बताइन् । नायक दयाहाङ राइले सधै नै अर्गानिक फिल्म खेल्ने गरेको बताउँदै करिश्माले फिल्म उत्कृष्ट रहेको प्रतिक्रिया दिइन् । 

पत्रकार ऋषि धमलाले आफू फिल्म हेर्दा कैयौं पटक भावूक भएको सुनाए । उनले, आफ्नै गृह जिल्ला धादिङको कथा फिल्ममा समेटेका कारण पनि आफू अझै भावुक भएको प्रतिक्रिया दिए । फिल्म हेर्न पुगेका निर्देशक दिनेश डीसी, कलाकार गजित बिष्टले पनि उत्कृष्ट फिल्म बनेको भन्दै सबैलाई हेर्न आग्रह गरे ।

निर्देशक फूलमान बलले फिल्मबाट पाएको प्रतिक्रियाले आफू उत्साहित भएको सुनाए । यो  फिल्ममा शान्ती वाइवा, वुद्दि तामाङ, जिग्मे छ्योकी घिसिङ लगायतका कलाकारको अभिनय छ ।