जेठ महिनामा दर्शकको खडेरी, कहिले भरिएला हल ?


वैशाख महिनामा ‘जारी’ फिल्म चलेर केही शितलता फिल्म क्षेत्रलाई भएको थियो । तर, जेठ महिनामा देशभर बढेको गर्मी जस्तै फिल्म नचलेर फिल्मीकर्मीलाई पनि गर्मी भएको छ । 

जेठ महिना नेपाली फिल्मका लागि खराब रहन पुग्यो । गतबर्ष यही महिनामा रिलिज भएको फिल्म ‘कबड्डी ४’ले बक्स अफिसमा धुम मच्चाएको थियो । तर, यो बर्षको जेठ महिना नेपाली फिल्म क्षेत्रका लागि खडेरी नै बन्न पुगेको छ । 

यो महिनाको अन्तिम शुक्रबार रिलिज भएका २ फिल्ममध्ये ‘नीरफूल’को व्यापारबाट केही हदसम्म चित्त वुझाउन सकिन्छ । तर, ठूलो मात्रामा दर्शक फर्काउन यो फिल्म पनि सफल भएको होइन । तर, अर्को फिल्म ‘वेलकम टू हेम्जाकोट’ त रिलिज भएको पनि दर्शकले थाहा पाएनन् । फिल्मले बक्स अफिसमा पानी पनि भन्न पाएन । 

यस्तो हालत यही महिना रिलिज भएका ‘डाकिनी, ए साथी सुन, टुल्की, हुक्का’ लगायतका फिल्ममा देखियो । यी फिल्ममा दर्शकको  उपस्थिती निकै नै कमजोर रहन पुग्यो । एकातिर, ठूलो विदेशी फिल्म पनि नहुनु, अर्कोतिर नेपाली फिल्मको पनि व्यापार दयनीय हुनुले जेठ महिना प्रदर्शकहरुका लागि पनि खराब रहन पुग्यो ।

अब, अधिकांश प्रदर्शकहरुको ध्यान आउँदो साता रिलिज हुन लागेको प्रभाष, कृति सेनन र सैफ अली खान अभिनित फिल्म ‘आदिपुरुष’ माथि छ ।