सरकारले विदेशी फिल्मको प्रवद्र्धन गरेको सांसद शाहको आरोप


निर्देशक समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले विदेशी फिल्मको प्रवद्र्धनमा सरकार आफै लागेको आरोप लगाएका छन् । प्रतिनिधी सभाको बैठकमा बुधबार बोल्दै सांसद शाहले चलचित्र विकास बोर्डले दिएको सुझाव विपरित सरकारले विदेशी फिल्कमो प्रवद्र्धन गर्नका  लागि एक प्रतिशत मात्र भन्सार कर लगाएको उनको आरोप थियो । 

चलचित्र विकास बोर्डले सरकारलाई विदेशी फिल्म आयात गर्दा ५ प्रतिशत भन्सार शुल्क लगाउन सुझाव दिएको थियो । तर, सरकारले १ प्रतिशत मात्र कर लगाएपछि असिमले प्रश्न गरे–‘सरकारले विदेशी फिल्मको प्रवद्र्धन गर्दैछ कि नेपाली फिल्मको ? सरकारले बेलैमा मनन गरोस् ।’

फिल्म क्षेत्रलाई नजिकबाट वुझेका सांसद शाहले चलचित्र नीति नहुँदा फिल्म क्षेत्रले मार खेपिरहेको समेत प्रसंग उठाएका थिए । उनले, फिल्म उद्योगलाई थप पीडा दिने काम सरकारले गरेको भन्दै चलचित्र नीति फेर्न आग्रह गरे । 

फिल्म क्षेत्रको मुद्दा संसदमै उठेपछि चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीले सामाजिक संजाल मार्फत सांसद असिम शाहलाई धन्यवाद दिएका छन् ।