फिल्म 'कडी'को पोखरामा शुभमुहूर्त

दश वर्ष अघि नेपाली फिल्म“नाइके” निर्देशन गरेका नेत्र गुरुङद्वारा निर्देशित फिल्म “कडी”को शुभ मुहूर्त गरिएको छ । नेत्र इन्टरटेन्मेन्ट ब्यानरमा सुस्मिता फिल्मस्को सहकार्यमा बन्न लागेको “कडी” को संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पोखराको विन्ध्यावासिनी मन्दिरमा शुभ मुहूर्त गरेका हुन् ।

माइती घर फिल्मको कालाकोटैले भन्ने गीतको छायाँकन समेत विन्ध्यावासिनी मन्दिरमा गरिएको जानकारी गराउँदै कडीको शुभ मुहूर्त गर्न पाउँदा खुसी लागेको उनले बताए ।

पोखरा प्राकृतिक स्टुडियो भएकाले थुप्रै फिल्महरू सुटिङ हुने गरेको उल्लेख गर्दै श्रेष्ठले भारतीय नायक देवानन्दले समेत पोखरामा धेरै फिल्मरहरु सुटिङ गरेको जानकारी गराए । हरे राम हरे कृष्ण जस्ता फिल्महरू पोखरामा नै छायाँकन गरिएको भनाई उनको छ । श्रेष्ठले नेपाली फिल्मले अझै पनि नेपाली फिल्म भनेको यस्तो हुन्छ भनेर विश्वमाझ पुर्‍याइ आफूलाई स्थापित गर्न नसकेको प्रति दुख व्यक्त गरे । यस्तोमा नेपाली समाजका थुप्रै कडीलाई मोडेर आफूलाई अगाडि बढाउन र नेपाली फिल्मको उन्नयनमा “कडी” महत्त्वपूर्ण साबित हुनेमा आफू विश्वस्त रहेको भनाई उनको छ ।

कार्यक्रममा कलाकार माओत्से गुरुङले नेत्र गुरुङ म्युजिक भिडियो र सर्ट फिल्ममा चिरपरिचित नाम भएको उल्लेख गरे । उनले पोखराबाट बन्ने फिल्मको शुभमुहूर्तमा सहभागी हुन पाउँदा खुसी लागेको बताए । कडीले उठाउन खोजेको विषयले दर्शकको मन जित्नेमा उनी आशावादी छन् । फिल्म निर्देशक घनश्याम लामिछानेले “कडी” नेपाली फिल्म क्षेत्रका लागि नौलो बन्नेमा आफू विश्वस्त रहेको बताए । दश वर्ष अगाडि बनाएको नाइके पछिको ग्यापलाई चिर्ने गरी कडी अगाडि बढोस् भन्दै उनले शुभकामना दिए ।

नेत्र गुरुङले कडी आफ्ना लागि ड्रिम प्रोजेक्ट भएको उल्लेख गरे । म्युजिक भिडियोका लागि तयार पारिएको कथा फिल्म बन्ला भनेर आफूले कल्पना समेत नगरेको भनाई उनको छ । नाइके पछि आफू म्युजिक भिडियो र सर्ट फिल्महरूमा व्यस्त रहेता पनि फिल्म बनाउने योजना भने बनाइरहेको उनले बताए । कडी समाजको कथा भएको भनाई उनको छ । हर मान्छेले आफ्नो कथाको अनुभूति गर्न पाउने गरी फिल्म निर्माण गर्ने तयारीमा उनी छन् ।

पोखरा आसपास छायाँकन हुने फिल्म सस्पेन्स थ्रिलर जनरामा बन्नेछ । शुभ मुहूर्त पछि पाँच दिनको वर्कसप पश्चात् “कडी” छायाँकनमा जानेछ । कडी मार्फत दर्शकलाई आफूले नौलो स्वाद पस्कन चाहेको अभिव्यक्ति गुरुङको छ । कडीमार्फत गुरुङले टिकटकबाट चर्चामा आएका बद्री प्रसाद तिवारीलाई मुख्य पात्रका रूपमा प्रस्तुत गर्दै छन् । नायकको भूमिकामा तिवारी रहनेछन् ।

यस्तै, थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी सोफी धरेल नायिकाको भूमिकामा रहनेछिन् । तिवारी र धरेलको यो पहिलो फिल्म हो । मल्टी क्यारेक्टरवाला स्टोरीमा बन्ने फिल्ममा प्रकाश घिमिरे, कमल भण्डारी, सुगत करणजीत, विकास खनाल, संगम कायस्थ, राजेन्द्र अधिकारी, राम बास्तोला, सरिता दानकुटी, प्रमीला तुलाचन, अर्जुन खड्का लगायतका कलाकारहरूको अभिनय रहनेछ । टिकटकमा मार्फत चर्चामा आएका सहित धेरै नयाँ कलाकाहरुलाई स्थान दिइएको निर्देशक गुरुङले बताए ।

फिल्मलाई छायाँकन दीपेश केसीले गर्नेछन् भने पब्लिसिटी डिजाइनरमा सविन गायक रहेका छन् । सो अवसरमा सविन गायकले नै डिजाइन गरेको फस्ट लुक पनि सार्वजनिक गरिएको छ । सपना तिवारीको ड्रेस डिजाइनमा फिल्म निर्माण हुनेछ ।