कर्णालीमा पहिलो पटक ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने

कर्णाली प्रदेशको पर्यटन विकास र चलचित्र विकासका लागि कर्णालीमा पहिलो पटक ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने भएको छ । कर्णाली प्रदेशको सुर्खेतमा आगामी असोज ४ देखि ६ गतेसम्म हुने महोत्सवको लोगो राजधानीमा हालै एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही, अभिनेता शिव श्रेष्ठ, पूर्व मन्त्री कुन्तीकुमारी शाही, मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिष्टार डा. महेन्द्रकुमार मल्ल, कमेडियन हिमेश पन्त र निर्मात्री रज्जु प्रधानले अनावरण गरे ।

महोत्सव निर्देशक चक्रबहादुर चन्दले सरकारको ‘नेपाल घुमौं नेपाल चिनौं’ अभियानलाई समेत प्रभावकारी रुपमा कर्णाली प्रदेशमा कार्यान्वयन गर्न महोत्सव आयोजनाग गरिएको बताए । सांसद शाहीले कर्णालीलाई महोत्सवमार्फत संसारभर चिनाउने गरी चलचित्रको छायांकनको प्रचुर सम्भावना भएको कर्णाली क्षेत्रलाई प्रतिनिधित्व हुने गरी आयोजना हुन लागेको महोत्सवलाई आफूले भरपुर सहयोग गर्ने जनाए ।

उनले कर्णाली नेपाली भाषाको उद्गम थलो भएकाले यहाँका कथा, कला, रीतिरिवाज, भेषभुषा, परम्परा र भाषासंस्कृतिलाई संरक्षण र प्रवद्र्धन गर्न तथा पर्यटन विकासमा योगदान दिन महोत्सव सफल हुने बताए । ‘यति ठूलो कार्यक्रम आयोजना हुन लाग्दा चलचित्र विकास बोर्डका अध्यक्ष किन उपस्थित छैनन् ? अब कर्णालीलाई कसैले हेप्न पाउदैन’, उनले भने, ‘चलचित्र विकासका लागि संसदमा गहन भूमिका निर्वाह गर्ने मात्र हैन कर्णालीमा चलचित्र छायांकनका लागि जादा सडकको स्तरोन्नतीका लागि समेत सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनेछु ।’

उनले विदेशी फिल्मले नेपाली फिल्मलाई विस्थापित गर्ने गरेको दाबी गर्दै यो वर्ष मात्र विदेशी फिल्मले ९० करोड रुपैया देश बाहिर लिएर गएकाले राज्यले कर बढाउनु पर्ने बताए । महोत्सवका निर्देशक चक्रबहादुर चन्दले आगामी असोज ४, ५ र ६ गते हुने महोत्सवले स्थानीय कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने बताए । उनले प्रदेशलाई चिनाउने र छायाङ्कनको गन्तव्य बनाउने उद्देश्यका लागि सहकार्यसमेत गरिने बताए । 

पूर्वमन्त्री शाहीले कर्णालीका कथा, कला, रीतिरिवाज, भेषभुषा, परम्परा र भाषासंस्कृति र छायांकन स्थलका लागित भने प्रचुर सम्भावना रहेका छन् । कार्यक्रममा दर्शन नेपाल क्रियशन र बर्षाज फिल्म वक्र्स सिक्किमको ब्यानरमा निर्माण भएको लागुऔषधविरुद्धको शिक्षामूलक ‘सारथी’ को महोत्सवमा प्रिमियर हुने घोषणा गरियो । 

फिल्म ‘प्रेमगीत २’ फेम्डका लेखक तथा निर्देशक रामशरण पाठकको निर्देशन छ । फिल्मका निर्माता मिलन सिलवाल र अम्बिका सिलवाल हुन् ।