‘जारी’ चल्नुमा मेरो हात छैनः दयाहाङ राई


शनिबार सफलतापूर्वक ५१ दिन मनाएको फिल्म ‘जारी’ले नायक दयाहाङ राइको क्रेज झनै बढायो । गतबर्ष ४ वटा हिट फिल्म दिएका दयाले यो बर्षको सुरुवातमै अर्को ब्लकबस्टर फिल्म दिएपछि उनलाई लिएर फिल्म बनाउनेहरुको लाइन लामो छ । तर, दयाको समय यो बर्षका लागि छैन । 

संयोग नै मान्नुपर्छ कि, ‘जारी’ चलेपछि कुनै पनि नेपाली फिल्म लगानी उठाउन सकेका छैनन् । अब, उनै दयाको नयाँ फिल्म ‘निरफूल’ आउँदो शुक्रबारबाट हलमा लाग्दैछ । दया यो फिल्मबाट निकै आशावादी छन् । 

दयाकै फिल्मले उठाएको नेपाली फिल्म क्षेत्रलाई फेरि उनकै फिल्मले उठाउनुपर्ने अवस्था छ । तर, दया ‘जारी’ चल्नुमा आफ्नो भूमिका नरहेको बताउँछन् । उनले भने–‘जारी चल्नुमा मेरो भूमिका छैन । यो फिल्म चल्नुको सम्पूर्ण जस यसका निर्देशक उपेन्द्र सुब्बालाई जान्छ । निर्देशकले फिल्मको सोच बनाउनुभयो र मलाई काम गराउनुभयो ।’

दयाले आफूले ‘जारी’पछि ‘निरफूल’मा पनि कवि निर्देशकसँग काम गरेको बताए । फूलमान बम राम्रो कवि समेत हुन् । उनले, कविको नजरबाट फिल्म हेर्दा झनै गज्जब हुने तर्क गरे । यो फिल्म आफ्नो मनमा बसेको र फिल्मको कथा पढ्दा आनन्द आएको दयाको भनाई छ ।