नीता ढुंगानाको यात्राः निर्माण र निर्देशनमा सँगसँगै


नायिका नीता ढुंगानाको निर्माणमा फिल्म ‘ह्रस्व दीर्घ’को पहिलो सेड्यूलको छायांकन सकिएको छ । नेपाल र भारतका कलाकारहरुको अभिनय रहेको यो फिल्मको पहिलो सेड्यूलको छायांकन हैदराबाद स्टूडियोमा गरिएको छ । 

तर, नीताले फिल्म निर्माणमा मात्र नभएर भिडियो निर्देशनमा पनि आफूलाई अगाडि बढाइरहेकी छिन् । उनले, एक भजन गीतमार्फत निर्देशनमा हात हालेकी थिइन् । उनै, नीताले अब म्युजिक भिडियो पनि निर्देशन गरेकी छिन् । 

‘प्रतिक्षा’ बोलको गीतको म्युजिक भिडियोमा नीताको निर्देशन हेर्न पाइन्छ । नीताले फिल्म निर्माण, भिडियो निर्देशनलाई अगाडि बढाउँदै केही बर्षमै फिल्म निर्देशन पनि गर्ने संकेत देखाएकी छिन् । यो भिडियोमा नायिका गौरी मल्ल मुख्य भूमिकामा छिन् । भिडियामा गौरी मल्ललाई विभिन्न चरित्रमा देखाइएको छ । भिडियोमा संजय लामाको छायांकन, मिला श्रेष्ठको सम्पादन छ । 

भिडियोमा कर्ण दासको स्वर, सचिता कर्माचार्यको शब्द, कर्ण दासकै संगीत छ । कलाकार तथा ज्योतीष हरिहर अधिकारीसँग प्रेममा परेपछि नीताले निर्देशनलाई अगाडि बढाएकी हुन् ।