यो बर्ष झनै घट्यो फिल्म निर्माणको संख्या


वैशाख र जेठ महिनामा नेपाली फिल्म रिलिजको चाप सुखद देखियो । हरेक साता २ वटासम्म फिल्म रिलिज भैरहेका छन् । आउँदो शुक्रबार पनि २ वटा फिल्म रिलिज हुँदैछन् । तर, के यो बर्ष नेपाली फिल्मको निर्माण कम देखिएको हो ? फिल्मको व्यापार अपेक्षित नहुँदा नेपाली फिल्मका मेकरले पहिले जस्तो फिल्म निर्माण नगरेको अवस्था हो ?

यो बर्षको रिलिज क्यालेन्डर हेर्ने हो भने यो बर्ष गतबर्षको तुलानामा पनि कम फिल्म बन्ने देखिएको छ । गतबर्ष करिब ५० फिल्म रिलिज भएका थिए । यो बर्ष रिलिजको लागि तयार रहेका र छायांकनमा रहेका फिल्मको संख्या हेर्ने हो भने यो बर्ष गतबर्षको जती पनि फिल्म रिलिज नहुन सक्छन् । 

विशेषगरि, असार र साउनमा फिल्म रिलिजको सेड्यूल खासै छैन । पानी पर्ने महिना भएकाले पनि यी दुई महिनामा फिल्म रिलिज खासै हुदैनन् । तर, असार ८ गते ‘अन्तिम संस्कार’ र असार १५ गते ‘परस्त्री’ रिलिजको लागि तयार छन् ।

भदौमा हालसम्म प्रदर्शन मिति तय भएका फिल्मको सूची हेर्दा ४ वटा देखिएका छन् । ‘नम्बरी सुन, जय हो, नांगो गाउँ र भगवत् गीता’ भदौमा रिलिजको तयारीमा छन् । असोज महिनामा फिल्म रिलिजको सूची देखिएको छैन । कार्तिकमा ‘परदेशी २, पशुपति प्रसाद २ः भष्मे डन, दिमाग खराब’ रिलिजको सेड्यूल छ । 

प्रदर्शन मिति तय नभएपनि फिल्म ‘ह्यासट्याग माया’को छायांकन सुरु भएको छ । यस्तै, फिल्म ‘अ‍ैँचो पैँचो’ पनि यही बर्ष रिलिज हुनेछ । फिल्म ‘अगस्त्य’को पनि छायांकन सुरु भएको छ । यस्तै, फिल्म ‘ह्रस्व दीर्घ’को छायांकन पनि चलिरहेको छ । 

यो बर्ष छायांकनमा जाने तयारीमा रहेका फिल्ममा रोहित अधिकारीको ‘फर्की फर्की र बरिष्ठ बलराम’, दीपकराज गिरीको अनटाइटल प्रोजेक्ट, रामबाबु गुरुङको ‘डिग्री माइला’, प्रदीप भट्टराइको ‘महाजात्रा’, किरण नेपालीको ‘हात्तीछाप र सोलीडोली’ लगायत छन् । यस्तै, सरोज खनालले  विकासराज आचार्यसँग सहकार्य गर्दै फिल्म बनाउने तयारी गरेका छन् ।

रिमेश अधिकारीले पनि फिल्म ‘कोतपर्व’ निर्माणमो घोषणा गरिसकेका छन् । नायक भुवन केसीले पनि होम प्रोडक्शनको फिल्म निर्माणको घोषणा गरेका छन् । यी बाहेक अन्य केही फिल्म निर्माणको घोषणा भएका छन् भने केही छायांकनमा छन् । तर, यो बर्ष नेपाली फिल्मलाई नजुधाउने हो भने सहज रुपमा फिल्म रिलिज गर्न सक्ने देखिएको छ ।