ट्रेलर र गीतमा बुस्ट गरेर लाखौं भ्यूज, हलमा खडेरी

यहाँ हामी वैशाख १ गतेदेखि यता रिलिज भएका फिल्मका मात्र कुरा गर्दैछौँ । यो श्रृंखला सुरु हुन्छ फिल्म ‘जारी’बाट । वैशाख १ मा रिलिज ‘जारी’ले सामाजिक सञ्जालमा चर्चा र माउथ पब्लिसिटी राम्रै पायो । त्यसैका परिणाम फिल्मले शनिबार २१ वटा हलमा ५१ औं दिन मनाएको छ ।

यो फिल्मको विषयवस्तु राम्रो भएर पनि निर्माण पक्षले यसको डिजिटल प्रमोसनमा डलर खर्च गर्दे दर्शक तानिरहेको थियो । पछि यो फिल्ममा प्रयोग गरिएको अभिनेता दयाहाङ राईले बोलेको एक शब्दलाई सेन्सरले रोकेको थियो । तर पहिला आउँदा भने सेन्सर बिनै फिल्मको प्रचार सामाग्री आएपछि दर्शकले दिनप्रतिदिन रुचाउँदै गए । तसर्थ यो फिल्मको बुस्टिङले काम पनि गर्यो । फिल्म हेर्नकै लागि बालबालिकादेखि वृद्धवृद्धासम्म हलमा तानिए । 

यही मितीमै रिलिज भएको अर्को फिल्म ‘बुलाकी’ र ‘बिहे पास’ले पनि फिल्म चलाउनका लागि राम्रै डलर खर्च गरेर बुस्टको सहारा लिए । तर परिणाम दुवै फिल्म ‘जारी’ जस्तो सफल हुन सकेनन् । फिल्म ‘बुलाकी’ले त शो कम भएको भन्दै आफैं पछि हट्ने निर्णय लियो ।

यसपछि रिलिज भएका ‘प्रसाद २’ र ‘नाइँ नभन्नू ल ६’को अवस्था पनि उस्तै रह्यो । दुवैले सामाजिक सञ्जालमा नदेखिने गरी युट्युबमै भ्यूज देखाउनका लागि बुस्टिङको सहारा लिएका थिए । ‘प्रसाद २’को हकमा भने पहिले नै रिलिज मिति घोषणा हुनाले यसको असर पछि देखिएन । ‘नाइँ नभन्नु ल ६’का हकमा भने बुस्ट गरेर पाएको भ्यूजलाई हेर्ने हो भने दर्शकले जनाएको प्रतिक्रिया लाजमर्दो नै छ ।

यस्तै नेपालको पहिलो डान्स ड्रामा फिल्म भनी प्रचार गरिएको फिल्म ‘ज्याकी–आइ एम २१’को हकमा त सामाजिक सञ्जालमा बुस्टिङको मनपरी नै थियो । यो फिल्मले त प्रचार सामाग्रीलाई यति धेरै डलर खर्च गरी गरी बुस्ट गरेको थियो कि त्यसको प्रभाव हलमा देखियो । किनकी हलमा प्रचारमा बुस्ट गरिएजस्तो दर्शकको उपस्थिति देखिएन ।

फिल्म ‘हल्कारा’ले त सुरुवाती आफ्नो प्रचार सामाग्रीलाई लिएर दह्रै बुस्ट गर्यो । अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड प्राप्त गरेको भन्दै निर्माण पक्षले प्रचार सामाग्रीलाई डलरका डलर खर्च गर्दै प्रदर्शन मिति आउन्जेलसम्म बुस्ट गरिरहेको थियो ।

यी बीचमा केही यस्ता फिल्म आए, जसले आफ्नो प्रचार त परै जाओस्, सामाजिक सञ्जालमा बुस्टिङ गर्ने समेत आँट गरेनन् । जसमा ‘ए साथी सुन’, ‘टुल्की’, ‘हुक्काः एन एब्सर्ड ड्रिम’ रहेका छन् । 

अब कुरा गरौं आउने फिल्म ‘परस्त्री’को । असार १५ गतेबाट रिलिज हुने यो फिल्मको चर्चा हिन्दी भाषामा पनि रिलिजको तयारीमा छ । यो फिल्मले हालसम्म एउटैमात्र प्रचार सामाग्रीका रुपमा गीत ‘माया बस्यो तिमीसँग’ सार्वजनिक गरेको छ । भन्न त फिल्मकी निर्मात्री शर्मिला पाण्डे आफैंले फिल्मलाई बहुप्रतिक्षित भन्ने गरेकी छिन् । यो फिल्मलाई पनि डिजिटल बुस्टिङमा दह्रै खर्च गर्ने मनसाय बनाएको देखिन्छ ।

जसरी यो फिल्मको प्रचार सामाग्रीलाई बुस्टिङ गरिरहेका छन्, त्योबाट निर्माण पक्ष भने कतै खुशी हुने स्थितिमा देखिएको छैन । बुस्टिङमा लाखौं खर्च गर्न खोजिरहेका ‘परस्त्री’ टिमले न गीतबाट दह्रो प्रचार पाउन सकिरहेका छन्, न त दर्शककै प्रतिक्रिया पाउन सकिरहेका छन् ।

युट्युबमा राखिएका यी फिल्मका प्रचार सामाग्री हेर्दा मिलियन भ्यूज पायो भन्ने बनाएका छन् । तर दर्शकको कमेन्ट र लाइक हेर्ने हो भने सय र हजार पनि नाँघेको हुँदैन । यसबाट पनि निर्माताले केवल भ्यूज बढाउनका लागि मात्र डलर खर्च गरेको प्रस्ट देखिन्छ । किनकी त्यस्तै डलर खर्च गर्दा कमेन्ट र लाइक पनि उनीहरुले राम्रै पाउँथे ।

यसरी हेर्दा फिल्मलाई दर्शकबाट राम्रो प्रतिक्रिया पाउन त कता हो कता, निर्माताको ध्यान भने सामाजिक सञ्जालमा बुस्टिङ गर्न, भ्यूज किन्न, लाइक र कमेन्ट बढाउनतिर नै बढी देखिन्छ । फिल्मका बारेमा राम्रोसँग दर्शकलाई बुझाउन नसक्दा डिजिटल बुस्टिङबाट नै दर्शकले बुझ्छन् भन्ने निर्माण टिमले कत्रो आँट गरेका होलान् ? यसरी बुस्टिङ गरी गरी दर्शकहरु फिल्म हलसम्म हाम्रो फिल्म हेर्न आइदिन्छन् भन्ने मनसायबाट चाहिँ चाँडै नै मुक्त हुन आवश्यक देखिन्छ ।