फिल्म क्षेत्रको कुभलो चिताउने को हुन् ‘राते काँइला’ ?


चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको ‘बजेटमा चलचित्र उद्योग’ विषयक अन्तरक्रिया कार्यक्रममा ‘राते काँइला’को प्रसंग उठ्यो । संगीतकार चेतन सापकोटाले यो प्रश्न उठाएपछि यसले बहसको रुप लिएको थियो । 

यहाँ उल्लेख गरिएको ‘राते काँइला’ फिल्म ‘चिनो’को सुनील थापा भने होइनन् । चेतनले ‘राते काँइला’लाई चिन्न आवश्यक रहेको बताएका थिए । विशेष गरि, नेपाली फिल्म क्षेत्रलाई यो बर्षको बजेटले कुनै पनि कुरामा सम्बोधन गर्न नसकेपछि यस्तो प्रसंग उठेको हो । 

कार्यक्रममा बोल्दै संगीतकार चेतन सापकोटाले संचार मन्त्रालयबाट स्वीकृत भएर फाइल अर्थ मन्त्रालयमा गएको तर अर्थका ‘राते काँइला’हरुले बजेट काटिदिएको प्रसंग उठाए । उनले नेपाली फिल्म क्षेत्रलाई गन्दै नगन्ने ‘राते काँइला’हरु मन्त्रालयमा रहेका कारण पनि यस्तो अवस्था आएको तर्फ संकेत गरे । सापकोटाले सरकारी कर्मचारीहरू नै नेपाली फिल्मप्रति सकारात्मक नहुँदा यस्तो अवस्था आएको बताएका थिए । 

यो विषयमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले पनि आफ्नो भनाई राखेका थिए । केसीले पनि नेपाली फिल्मको कुभलो चिताउने ‘राते काँइला’हरुलाई पहिचान गर्न आवश्यक रहेको बताएका थिए । 

बहस कार्यक्रममा फिल्म क्षेत्र एकजुट नहुँदा सरकारी तबरबाट हेपिएको आवाज उठेको थियो ।