करिश्मालाई ‘महानायिका’पछि विपनालाई ‘यूग नायिका’को उपाधि

केही वर्ष अगाडि एउटा संस्थाले नायिका करिश्मा मानन्धरलाई ‘महानायिका’को उपाधि दियो । यो उपाधिमा आफ्नै खालका बहस हुने गरेका छन् । कतिपयले करिश्मालाई यो उपाधि दिनु हुँदैन भन्ने तर्क गरेका छन् भने कतिपयले करिश्मा नेपाली फिल्म क्षेत्रको ‘महानायिका’ नै नभएको तर्क पनि गर्ने गरेका छन् ।

हुन त, दर्शकको मनमा बस्न सफल कलाकारहरूलाई विभिन्न उपाधि झुन्ड्याउन आवश्यक नभएको भन्ने खालका टिप्पणीहरू पनि सुनिन्छन् । 

नायिका करिश्मा मानन्धरपछि अर्की एक नायिकालाई पनि नयाँ उपाधि दिइएको छ । काठमाडौँमा आयोजना भएको स्पर्श म्युजिक भिडियो अवार्डमा नायिका विपना थापालाई ‘युग नायिका’को उपाधि दिइएको हो । 

टच इन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्मस्, पेजेन्ट नेपाल इन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा भएको ‘तेस्रो संस्करणको स्पेर्श म्युजिक भिडियो अवार्ड २०२३’मा कुनै समयकी नम्बर १ नायिका थापालाई ‘युग नायिका’को उपाधिबाट सम्मानित गरिएको थियो । यो सम्मान पाएपछि मिडियासँग कुरा गर्दै विपनाले भनिन्–‘हामीले त्यो समयमा मिहिनेतले काम गरेका थियौँ । त्यो समयमा रोपेको बिउँ बल्ल हुर्किएको छ । यसैले, आफूले जस्तो फल रोप्यो त्यस्तै नै फल्छ भनेर सबैले बुझ्नुपर्छ ।’

अवार्डबाट सम्मानित हुनु अगाडि नायिका नम्रता सापकोटाले विपना थापाका चर्चित फिल्मी गीतहरूमा नृत्य गरेर उनलाई सम्मान प्रकट गरेकी थिइन् । सो समयमा विपना भावुक देखिइन् । उनलाई निर्देशक मोहन निरौला, नृत्य निर्देशक कमल राई र राजु शाह, छायाकार शिव ढकालले सम्मान पत्र, दोसल्ला र अवार्डबाट सम्मानित गरेका थिए ।