रौनक हराएको ‘मिस नेपाल वर्ल्ड’
कुनै समय थियो, जति बेला ‘मिस नेपाल’को आयोजना हुँदै गर्दा एक महिनादेखि चर्चा परिचर्चा सुरु हुन्थ्यो । नेपालले नयाँ मिस नेपाल को पाउला भन्ने कौतुहलता आम नागरिकमा देखिन्थ्यो ।
मिस नेपालको विजेता बन्दा पाउने चर्चा, त्यसपछि जीवनमा आउने परिवर्तनलाई सम्झिएर युवतीहरू फुरुङ्ग हुन्थे ।
तर, विगत केही वर्षदेखि यो सौन्दर्य प्रतियोगिता आयोजना भएको र नभएकोमा आम नागरिकलाई खासै मतलब छैन । मिस नेपालको आयोजक संस्था द हिडेन ट्रेजरले यो सौन्दर्य प्रतियोगितालाई निरन्तरता त दिएको छ, तर यसको रौनक पुरै हराएको छ ।
शनिवार ‘मिस नेपाल वर्ल्ड २०२३’को विजेताको रूपमा श्रीच्छा प्रधानलाई घोषित गरियो । गोदावरीको सनराइज सम्मेलन हलमा यो प्रतियोगिता आयोजना भएको थियो ।
तर, यसले आम मानिसहरूलाई छोएन । उनीहरूको चासोको विषयमा मिस नेपाल कहीँ कतैबाट परेको देखिएन । केही वर्ष अघिसम्म पनि मिस नेपालको घोषणा हुँदै गर्दा सामाजिक सञ्जालमा बधाईको पहिरो नै फुट्थ्यो । तर, विगत केही समययता यसको सौन्दर्यतामा गिरावट आएको छ ।
मिस नेपालको रूपमा श्रृङ्खला खतिवडाले उपाधि जित्दै गर्दा सिङ्गो देशले उनलाई समर्थन गरेको थियो । ‘मिस वर्ल्ड’मा श्रृङ्खला पुग्दा उनलाई भोटिङ गर्न नेपालीहरू लागेका थिए । तर, त्यसपछि मिस नेपालप्रति नेपालीहरूको चासो खासै देखिएको छैन । यस पटक त धेरैलाई मिस नेपाल आयोजना भएको र नभएको पनि थाहा छैन होला ।
आखिर, देशकै चर्चित सौन्दर्य प्रतियोगितामा यो खालको निराशाजनक अवस्था किन आयो ? किन, आयोजकले एउटा चर्चित ब्रान्डको क्रेज खस्कँदै गर्दा त्यसलाई जोगाउन सकेन ? यो बारेमा आयोजक संस्थाले पक्कै पनि समीक्षा गर्ला ।
प्रतिक्रिया