‘मान लिनका लागि मान दिन पनि जान्नुपर्दछ’: विपना थापा


नायिका विपना थापाले नेपाली फिल्म क्षेत्रमा सम्मान र सस्कार हराउँदै गएको आफूले सुनेको बताएकी छिन् । शनिबार आयोजना भएको एक अवार्ड समारोहमा सम्मानित भएपछि पत्रकारहरुसँग कुराकानी गर्दै विपनाले भनिन्–‘हो, मैले पनि नेपाली फिल्म क्षेत्रमा सम्मान र संस्कार हराउँदै गएको सुनेको छु । तर, यस्तो हुनु राम्रो होइन । फिल्म क्षेत्रमा मात्र होइन हरेक क्षेत्रमा मान दिएको खण्डमा मात्र मान पाइन्छ ।’

विपनाले आफू भन्दा ठूलालाई जहिले पनि सम्मान गर्न सिक्नुपर्ने बताइन् । नेपालमा आएर सम्मानित हुन पाउँदा आफू निकै भावुक भएको भन्दै विपनाले नेपाली फिल्म क्षेत्रले आफूलाई संझिएको बताइन् । भनिन्–‘मलाई नेपाली फिल्म क्षेत्रले जहिले पनि संझिएको छु । बेलाबखत विभिन्न कार्यक्रममा बोलाउनुहुन्छ । अरु बेलामा पनि सामाजिक संजालको माध्यमबाट फिल्मीकर्मीसँग कुराकानी भइरहन्छ ।’

अर्को एक प्रसंगमा विपनाले आफूहरुको समयमा नायिकाहरुसँग प्रतिस्पर्धा नभएको पनि बताइन् । उनले भनिन्–‘निरुता सिंह, जल शाह र म एउटै समयमा फिल्म क्षेत्रमा आएका थियौं । तर, हामी बिच कहिले पनि प्रतिस्पर्धा भएन । हामीले एक अर्काको नराम्रो कुरा कहिले पनि गरेनौं । आज पनि हामी बिच निकै राम्रो सम्बन्ध छ ।’